अख्तियारको टोलीद्धारा ललितपुर भूमि प्रशासनका ३ नायबसुब्बा सहित पाँचजना रंगेहात पक्राउ

३ लाख २४ हजार घुस रकम बरामत


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भूमि प्रशासन कार्यालय, लगनखेल ललितपुरका नायब सुब्बाहरु उत्तम कुँवर,विशाल सुन्दास, राजकुमार मगर तथा लेखापढी व्यवसायीहरु शैलेन्द्र रानामगर र समिर कटवाल लगाय ५ जनालाई रंगेहात पक्राउ गरेको छ ।

अख्तियारका अनुसार शुक्रबार ललितपुर महानगरपालिका–४ स्थित एक होटलमा विशेष निगरानीसहित गरिएको ‘स्टिङ अपरेशन’का क्रममा उनीहरू सेवाग्राहीबाट घुस रकम लिइरहेको अवस्थामा पक्राउ परेका हुन्।

उनीहरूको साथबाट घुसबापत लिइएको ३ लाख रुपैयाँ तथा स्रोत खुलाउन नसकिएको थप २४ हजार ८९० रुपैयाँ गरी ३ लाख २४ हजार ८९० रुपैयाँ बरामद गरिएको आयोगले जनाएको छ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार जग्गाको वकसपत्र पारित गराइदिने काममा अनावश्यक दुःख–हैरानी दिँदै सेवाग्राहीसँग घुस मागिएको भन्ने सूचना तथा उजुरीका आधारमा आयोगको टोली परिचालन गरिएको थियो। टोलीले रकम लेनदेन भइरहेको अवस्थामै उनीहरूलाई नियन्त्रणमा लिएको हो।

आयोगले पक्राउ परेका पाँचै जनामाथि भ्रष्टाचारसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।

२०८३ श्रावण १६, शनिबार १०:४९ प्रकाशित
ट्रेन्डिङ समाचार