नयाँ दरबन्दी कार्यान्वयन र दर्ता उच्च गतिमा , किताबखानामा १,३३९ पद दर्ता
स्पेशल टास्क फोर्स सक्रिय, एकै दिन ७१७ पद दर्ता सम्पन्न
काठमाडौं । सरकारले नयाँ संगठन तथा व्यवस्थापन (O&M) संरचना कार्यान्वयनलाई तीव्र बनाउँदै मन्त्रालय तथा मातहतका निकायहरूको नयाँ दरबन्दी दर्ता प्रक्रियालाई तीव्र गतिमा अघि बढाएको छ। मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनसँगै राष्ट्रिय किताबखानामा नयाँ पद दर्ता गराउने मन्त्रालयहरूको चाप उल्लेख्य रूपमा बढेको छ।
राष्ट्रिय किताबखानाले दर्ता प्रक्रियालाई छिटो टुंग्याउन विशेष (स्पेशल) टास्क फोर्स नै परिचालन गरेको छ। सोही टास्क फोर्सले बुधबार मात्रै एक विशिष्ट श्रेणी (सचिव), १४ सहसचिव वा सो सरहका पदसहित कुल ७१७ दरबन्दी दर्ता सम्पन्न गरेको छ।
राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलका अनुसार हालसम्म ७ विशिष्ट श्रेणी (सचिव), ४१ सहसचिव वा सो सरहका पदसहित कुल १,३३९ दरबन्दी दर्ता भइसकेका छन्।
उनका अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ असार ३२ गतेको निर्णय कार्यान्वयनका क्रममा श्रावण १३ गतेसम्म ९ मन्त्रालय तथा तिनका मातहतका थप १६ निकाय गरी २५ निकायबाट संगठन तथा पद दर्ताका लागि फाइल प्राप्त भएका छन्। आवश्यक कागजात (अंग) पूरा भएका सबै पदहरूको दर्ता प्रक्रिया सम्पन्न भइसकेको छ।
आवश्यक कागजात अपुग रहेका संगठन तथा पदहरूको हकमा भने ती कागजात प्राप्त हुनेबित्तिकै दर्ता प्रक्रिया अघि बढाइने किताबखानाले जनाएको छ।
महानिर्देशक पोखरेलका अनुसार मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनलाई लिएर मन्त्रालयहरूबीच नै नयाँ दरबन्दी दर्ता प्रक्रिया छिटो सम्पन्न गर्ने प्रतिस्पर्धाजस्तै अवस्था देखिएको छ। त्यसका कारण किताबखानामा दैनिक रूपमा फाइलको चाप बढिरहेको छ भने दर्ता प्रक्रियालाई सहज बनाउन विशेष कार्यदलले निरन्तर काम गरिरहेको छ।
सरकारले नयाँ संगठन संरचनाअनुसार सबै मन्त्रालय तथा निकायको दरबन्दी अभिलेखीकरण सम्पन्न गरेपछि कर्मचारी व्यवस्थापन, सरुवा, पदपूर्ति तथा प्रशासनिक पुनर्संरचनाका थप प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।
हालसम्म दर्ता भएका प्रमुख तथ्य
कुल दर्ता भएका पद : १,३३९
विशिष्ट श्रेणी (सचिव) : ७
सहसचिव वा सो सरह : ४१
बुधबार मात्रै दर्ता भएका पद : ७१७
फाइल प्राप्त भएका निकाय : २५ (९ मन्त्रालय र १६ मातहतका निकाय)