काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवा पहुँच र गुणस्तर सुधार गर्न टेलिकम टावरमा सम्भव भएसम्म भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ।
मन्त्रालयमा भएको अन्तर–निकाय छलफलमा टेलिकम, नेपाल विद्युत् प्राधिकरण र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच स्थायी समन्वय प्रणाली विकास गरी कार्ययोजनासहित अघि बढ्ने सहमति भएको छ।
छलफलमा दुर्गम क्षेत्रमा विद्युत् अभाव, कम भोल्टेज, फोरजी गुणस्तर सुधार, फाइभजी पूर्वाधार निर्माण तथा ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा विस्तारका विषयमा पनि जोड दिइएको छ। हाल नेपाल टेलिकमका ३१६ टावर राष्ट्रिय प्रसारण लाइनबाहिर रहेर सौर्य ऊर्जाबाट सञ्चालन भइरहेको जानकारी दिइएको छ।