काठमाडौं ।सरकारले राहदानी, मानव बेचबिखन नियन्त्रण, कर्मचारी सञ्चय कोष, मेलमिलाप, बालश्रम निषेधलगायत नौ वटा महत्वपूर्ण विधेयक संघीय संसद्मा पेश गर्ने प्रक्रिया अघि बढाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ती विधेयक संसद्मा दर्ता गर्न स्वीकृति दिने निर्णय गरेको हो।
बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवा–सर्त र सुविधासम्बन्धी ऐन, २०५३ संशोधन गर्न बनेको विधेयकसहित विभिन्न विधेयक संसद्मा पेश गर्न स्वीकृति प्रदान गरिएको जानकारी दिए।
सरकारले स्वीकृति दिएका विधेयकमा खानी तथा खनिज पदार्थसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक, संक्रामक पशु रोग नियन्त्रणसम्बन्धी विधेयक, राहदानी ऐन, २०७६ संशोधन विधेयक, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण (पहिलो संशोधन) विधेयक, बालश्रम निषेधसम्बन्धी विधेयक, आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, मेलमिलाप सम्बन्धी ऐन, २०६८ संशोधन विधेयक तथा कर्मचारी सञ्चय कोष ऐन, २०१९ संशोधन विधेयक रहेका छन्।
यस्तै, मन्त्रिपरिषद्ले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनिमयसम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने निर्णय पनि गरेको छ।
बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा सिन्धुलीका खेटराज दाहाललाई मनोनयन गर्ने तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (छैटौँ संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णयसमेत गरेको प्रवक्ता पोखरेलले जानकारी दिए।
सुनसरी घटनाबारे सरकार मौन
निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीहरूले सुनसरीको पछिल्लो घटनाक्रमबारे मन्त्रिपरिषद्ले कुनै निर्णय गरेको छ वा छैन भन्ने प्रश्न गरेका थिए। तर, प्रवक्ता पोखरेलले त्यसबारे कुनै प्रतिक्रिया दिएनन्। निर्णय सुनाइसकेपछि उनले थप प्रश्नसमेत नलिई पत्रकार सम्मेलन टुंग्याएका थिए।
मन्त्रिपरिषद्का मुख्य निर्णय
- ९ वटा महत्वपूर्ण विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति।
- सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा तोकिएको अधिकृतलाई विदेशी विनिमयसम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने।
- समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा खेटराज दाहाल (सिन्धुली)लाई मनोनयन गर्ने।
- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (छैटौँ संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने।

