सुनसरी घटनापछि प्रधानमन्त्री कार्यालयको अपिल : हिंसाले होइन, संवादबाट समाधान खोजौँ

घटनाको छानबिन गर्न सातदिने समिति गठन, घाइतेको निःशुल्क उपचार र पीडितलाई क्षतिपूर्तिको प्रतिबद्धता, सामाजिक सद्भाव नबिगार्न सबै पक्षसँग आग्रह


काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको गोलीकाण्डपछि उत्पन्न तनावलाई लिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै पक्षलाई संयमता अपनाउन र हिंसात्मक गतिविधिबाट टाढा रहन आग्रह गरेको छ। सरकारले कुनै पनि विवाद वा असन्तुष्टिको समाधान हिंसाबाट सम्भव नहुने स्पष्ट गर्दै सामाजिक सद्भाव कायम राख्न सबैको सहयोग आवश्यक रहेको जनाएको छ।

आइतबार प्रधानमन्त्री कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा साउन १० गते सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। घटनामा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरिएको छ।

सरकारले घटनामा घाइते भएका सर्वसाधारण तथा सुरक्षाकर्मीहरूको स्वास्थ्य उपचार निःशुल्क गर्ने व्यवस्था मिलाइएको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत आवश्यक उपचारको प्रबन्ध गरिएको विज्ञप्तिमा उल्लेख छ।

घटनाको वास्तविकता पत्ता लगाउन गृह मन्त्रालयले उच्चस्तरीय छानबिन समिति गठन गरिसकेको पनि प्रधानमन्त्री कार्यालयले जनाएको छ। समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ। प्रतिवेदनमा घटनाको कारण, जिम्मेवार पक्षको पहिचान तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिने उपायसमेत समेटिने बताइएको छ।

सरकारले घटनाबाट प्रभावित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने र अनुसन्धानबाट दोषी ठहरिने जो–कोहीलाई कानुनबमोजिम कारबाही गरिने प्रतिबद्धता पनि दोहोर्‍याएको छ।

विज्ञप्तिमा नेपाल सरकारले कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान संवाद, कानुनी प्रक्रिया र शान्तिपूर्ण माध्यमबाट मात्रै सम्भव हुने विश्वास राखेको उल्लेख गर्दै हिंसात्मक गतिविधिले समस्या झन् जटिल बनाउने चेतावनी दिएको छ।

प्रधानमन्त्री कार्यालयले नेपाली समाजको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी एकतालाई कमजोर पार्ने कुनै पनि गतिविधिमा संलग्न नहुन सबै पक्षसँग आग्रह गरेको छ। साथै, सामाजिक सञ्जाल वा अन्य माध्यमबाट भ्रामक सूचना तथा उत्तेजक सामग्री नफैलाउन र त्यस्ता सूचनाको प्रभावमा नपर्न पनि सर्वसाधारणलाई अपिल गरिएको छ।

देशमा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न राजनीतिक दल, नागरिक समाज, धार्मिक संघ–संस्था, सञ्चारमाध्यम तथा आमनागरिकले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा सरकारको जोड छ।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता तथा सहसचिव हेमराज अर्यालद्वारा जारी विज्ञप्तिमा नेपालको विविधतायुक्त समाजको सबैभन्दा ठूलो शक्ति नै सामाजिक सद्भाव र राष्ट्रिय एकता भएकाले त्यसको संरक्षणमा सबै पक्ष संवेदनशील बन्नुपर्ने उल्लेख गरिएको छ।

२०८३ श्रावण १२, मंगलवार २१:३६ प्रकाशित
ट्रेन्डिङ समाचार