प्रधामन्त्री बालेन्द्रलाई भारत सरकारको निम्तो


काठमाडौं  ।  भारत सरकारले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई औपचारिक रूपमा भारत भ्रमणका लागि निमन्त्रणा दिएको पुष्टि गरेको छ। भारतीय विदेश मन्त्रालयले मंगलबार उक्त जानकारी सार्वजनिक गरेको हो।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रन्धिर जैसवालले नियमित पत्रकार सम्मेलनका क्रममा नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणका लागि निमन्त्रणा पठाइसकिएको बताएका हुन्। नेपाल–भारत सम्बन्ध र उच्चस्तरीय भ्रमणबारे सञ्चारकर्मीले उठाएको प्रश्नको जवाफ दिँदै उनले निमन्त्रणा पठाइएको पुष्टि गरे।

पत्रकार सम्मेलनमा नेपालबाट विशेष दूत भारत गएको भन्ने विषयमा पनि प्रवक्ता जैसवालसँग जिज्ञासा राखिएको थियो। त्यसबारे भने आफूलाई कुनै आधिकारिक जानकारी नभएको उनले बताए।

नेपालका प्रधानमन्त्रीलाई भारतले औपचारिक निमन्त्रणा पठाएको हो वा होइन भन्ने प्रश्नमा जैसवालले स्पष्ट रूपमा भने, “हो, नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणका लागि निमन्त्रणा पठाइएको छ।”

भारत सरकारको यस औपचारिक पुष्टिसँगै प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणबारे चासो बढेको छ। भ्रमणको मिति, एजेन्डा र अन्य कार्यक्रमबारे भने दुवै देशबाट हालसम्म कुनै औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।

२०८३ श्रावण १२, मंगलवार १८:२० प्रकाशित
ट्रेन्डिङ समाचार