कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन, बुधबार पार्टी कार्यालयमा श्रद्धाञ्जलीपछि अन्त्येष्टि
काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको मंगलबार निधन भएको छ। उनी लामो समयदेखि अस्वस्थ भई उपचाररत थिए।
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलका अनुसार ललितपुरस्थित हेलियस अस्पतालमा उपचारका क्रममा श्रेष्ठको मंगलबार दिउँसो निधन भएको हो। अस्पतालले केही समयअघि उनको मृत्यु भएको औपचारिक घोषणा गरेको उनले जानकारी दिए।
श्रेष्ठ लामो समयदेखि विभिन्न स्वास्थ्य समस्याबाट पीडित थिए र निरन्तर उपचारमा रहेका थिए।
नेपाली कांग्रेसले उनको पार्थिव शरीर बुधबार बिहान श्रद्धाञ्जलीका लागि सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा राख्ने जनाएको छ। त्यसपछि पार्टीका नेता–कार्यकर्ता तथा शुभेच्छुकको सहभागितामा शवयात्रा निकालेर पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम तय गरिएको छ।
श्रेष्ठ नेपाली कांग्रेसका प्रभावशाली तथा लामो राजनीतिक अनुभव भएका नेतामध्ये एक मानिन्थे। उनको निधनसँगै नेपाली कांग्रेसले एक अनुभवी र अग्रज नेता गुमाएको छ।