मधेशका प्रमुख सचिव शोभाकान्त पौडेलको पदबहालीसँगै ‘एक्सन’ सुरु, पहिलो दिनै सचिव बैठकबाट सेवा प्रवाह सुधार लगायतका महत्वपूर्ण निर्णय


काठमाडौं । मधेश प्रदेशका  प्रमुख सचिव शोभाकान्त पौडेलले पदबहालीसँगै प्रशासनिक कामलाई तीव्रता दिएका छन्। सोमबार पदभार ग्रहण गरेलगत्तै उनले प्रदेश सरकारका सचिवहरूको बैठक बोलाएर सेवा प्रवाह, सुशासन, कार्यसम्पादन र कर्मचारी अनुशासनसँग सम्बन्धित विभिन्न महत्वपूर्ण निर्णय गराएका छन्।

हालै महालेखा नियन्त्रक कार्यालयबाट मधेश प्रदेशमा सरुवा भएका पौडेलले पदबहालीसँगै प्रदेशको प्रशासनिक संयन्त्रलाई थप प्रभावकारी, जवाफदेही र परिणाममुखी बनाउने संकेत दिएका हुन्।

पदभार ग्रहणपछि प्रमुख सचिव पौडेलले स्थानीय सेवा गठन तथा सञ्चालन ऐन, २०८१ कार्यान्वयनका लागि आवश्यक नियमावलीको मस्यौदा शीघ्र तयार गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। उनले स्थानीय सेवासम्बन्धी कानुनी तथा प्रशासनिक व्यवस्था समयमै कार्यान्वयनमा ल्याउन जोड दिएका छन्।

पहिलो दिनै सचिव बैठक, सेवा प्रवाहदेखि सुशासनसम्मका निर्णय

प्रमुख सचिव पौडेलको अध्यक्षतामा बसेको सचिव बैठकले प्रदेश सरकारका सबै मन्त्रालयलाई सेवा प्रवाहलाई थप छिटो, चुस्त र प्रभावकारी बनाउन निर्देशन दिएको छ। बैठकबाट भएका प्रमुख निर्णयहरू यस्ता छन्–

  • सबै मन्त्रालयबाट छिटो, सरल र गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गर्ने।
  • नतिजासँग आबद्ध कार्यसम्पादन सूचक (Performance Indicators) विकास गर्ने।
  • बजेट तथा कार्यक्रम कार्यान्वयनका लागि स्पष्ट कार्ययोजना तयार गर्ने।
  • संगठन तथा व्यवस्थापन (O&M) सर्वेक्षण समयमै सम्पन्न गर्ने।
  • कार्यस्थललाई सुरक्षित, समावेशी तथा लैङ्गिकमैत्री बनाउने।
  • कर्मचारीमा आचरण, अनुशासन र जवाफदेहितालाई कडाइका साथ लागू गर्ने।
  • प्रत्येक मन्त्रालयमा गुनासो सुनुवाइ (Grievance Handling) संयन्त्र स्थापना तथा सुदृढ गर्ने।
  • मन्त्रालयहरूबीच समन्वय र सहकार्यको संस्कृति विकास गर्ने।
  • जिल्ला छाड्नुअघि सम्बन्धित सुपरिवेक्षकलाई अनिवार्य जानकारी गराउने व्यवस्था लागू गर्ने।
  • सरुवा, बढुवा, स्तरवृद्धि, कार्यसम्पादन मूल्यांकन (कासमू) तथा सम्पत्ति विवरणसम्बन्धी विषयमा सरोकारवालालाई समयमै जानकारी गराउने।
  • निर्णयका लागि मुख्यमन्त्री कार्यालयमा पेश हुने विषय समयमै आधार र कारण खुलाई पेश गर्ने

प्रभावकारी प्रशासन र विकासमा केन्द्रित रहने प्रतिबद्धता

पदबहालीपछि प्रमुख सचिव पौडेलले मधेश प्रदेश सरकारको प्रशासनिक प्रणालीलाई अझ प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउन आफू पूर्ण प्रतिबद्ध रहेको बताए। उनले विकास निर्माणका कामलाई गति दिने, सुशासन प्रवर्द्धन गर्ने तथा नागरिकले सहज रूपमा सरकारी सेवा प्राप्त गर्ने वातावरण निर्माणमा सम्पूर्ण प्रशासनिक संयन्त्रलाई सक्रिय रूपमा परिचालन गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनको पदबहालीसँगै पहिलो दिनमै भएका निर्णयहरूले मधेश प्रदेश सरकारको प्रशासनिक सुधार, सेवा प्रवाहको गुणस्तर वृद्धि तथा सुशासन प्रवर्द्धनमा नयाँ गति आउने अपेक्षा गरिएको छ।

२०८३ श्रावण ११, सोमबार १४:४९ प्रकाशित
ट्रेन्डिङ समाचार