सुनसरी गोलीकाण्डपछि देवानगञ्ज तनावग्रस्त, पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु
काठमाडौं । सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु तथा २१ जना घाइते भएको घटनापछि उत्पन्न तनावलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँच संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम सोमबार बिहान ७ बजेदेखि लागू हुने गरी अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेका हुन्।
आइतबार राति देवानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो भने २१ जना घाइते भएका थिए। घटनापछि त्यस क्षेत्रको सुरक्षा अवस्था तनावपूर्ण बनेको प्रशासनले जनाएको छ।
प्रशासनले कर्फ्यु लागू गरिएका क्षेत्रमा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउलगायत सबै गतिविधिमा पूर्ण प्रतिबन्ध लगाएको छ।
कर्फ्यु आदेश हरिनगरा बजार क्षेत्रमा पूर्वतर्फ नूनिया टोल, पश्चिमतर्फ पश्चिम खुनिया धार, उत्तरतर्फ हरिनगर गाउँपालिका कार्यालय र दक्षिणतर्फ वसन्तपुर मोडसम्म लागू गरिएको छ।
त्यसैगरी भुटाहा बजार क्षेत्रमा पूर्वमा मोरिया धार खोला, पश्चिममा इदगाहा फिल्ड, उत्तरमा सुनसरी खोला र दक्षिणमा हरिनगर गाउँपालिका कार्यालयसम्मको क्षेत्र कर्फ्युको दायरामा परेको छ।
कसनागञ्ज बजार क्षेत्रमा पूर्वमा यादव टोल, पश्चिममा पाँचौँ सिमल माध्यमिक विद्यालय, उत्तरमा कृष्ण माध्यमिक विद्यालय र दक्षिणमा नेपाल–भारत सीमा क्षेत्रभित्र कर्फ्यु आदेश लागू गरिएको प्रशासनले जनाएको छ।
यस्तै, घुस्की बजार क्षेत्रमा पूर्वमा कासमिया मदरसा, पश्चिममा प्रहरी चौकी घुस्की, उत्तरमा इशा हार्डवेयर र दक्षिणमा हिलाल पब्लिक स्कुलसम्म तथा देवानगञ्ज बजार क्षेत्रमा पूर्वमा विराटनगर जाने सडकस्थित मुसहर टोल, पश्चिममा मोरिया खोला, उत्तरमा चिउरा मिल र दक्षिणमा गाउँपालिका कार्यालयसम्मको क्षेत्र पनि कर्फ्युको दायरामा राखिएको छ।
प्रशासनले कर्फ्यु अवधिभर तोकिएका क्षेत्रभित्र कुनै पनि व्यक्तिलाई आवतजावत गर्न तथा सार्वजनिक गतिविधि सञ्चालन गर्न नपाइने स्पष्ट गरेको छ।