सर्पदंशका बालकको मृत्यु, भगवानपुरमा स्थानीयको प्रदर्शन
सिरहा । सर्पदंशबाट घाइते बालकको उपचारका क्रममा मृत्यु भएपछि सिरहाको भगवानपुर गाउँपालिकामा विरोध प्रदर्शन चर्किएको छ । उपचारमा लापरबाही भएको र एम्बुलेन्स समयमै नपाउँदा बालकको ज्यान गएको आरोप लगाउँदै स्थानीयले स्वास्थ्य केन्द्रमा तोडफोड गरेका छन् भने हुलाकी सडक अवरुद्ध गरेका छन् ।
भगवानपुर गाउँपालिका–४ कल्याणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएका सप्तरीको बलान बिहुल गाउँपालिकाका रोशन मण्डलको उपचारका क्रममा मृत्यु भएको हो । स्थानीयले समयमै थप उपचारका लागि अन्यत्र पठाउन नसकिएको र एम्बुलेन्स व्यवस्थापनमा ढिलाइ भएको आरोप लगाएका छन् ।
घटनापछि आक्रोशित स्थानीयले सडकमा टायर र दाउरा बालेर यातायात अवरुद्ध गरेका छन् । वार्ताका लागि बोलाइएका गाउँपालिका अध्यक्ष उपस्थित नभएपछि आन्दोलन थप चर्किएको स्थानीयको भनाइ छ ।
घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।