काठमाडौं । वर्षायामसँगै विपद्जन्य जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आफ्ना सम्पूर्ण कर्मचारीलाई २४ सै घण्टा ‘हाई अलर्ट’ अवस्थामा राख्ने निर्णय गरेको छ। अब काठमाडौं प्रशासनका सबै कर्मचारीले मोबाइल फोन चौबीसै घण्टा खुला राख्नुपर्नेछ भने नागरिकबाट आएको कुनै पनि आपत्कालीन सूचनामा तत्काल प्रतिक्रिया जनाउनुपर्ने व्यवस्था गरिएको छ।
प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको अध्यक्षतामा शुक्रबार बसेको कार्यालयको विस्तारित बैठकले काठमाडौं जिल्लामा हुन सक्ने बाढी, पहिरो, डुबान, खोलामा बग्ने दुर्घटना लगायतका विपद्जन्य घटनाको जोखिमलाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको हो।
बैठकले विपद् हुन नदिन पूर्वतयारीलाई थप प्रभावकारी बनाउने, घटना भइहालेमा क्षति न्यून गर्न आवश्यक सबै संयन्त्रलाई सक्रिय बनाउने तथा जिल्लाभर हुने कुनै पनि विपद्मा प्रशासन तत्काल परिचालन हुने रणनीति तय गरेको छ।
काठमाडौं उपत्यकाका नदी, खोला तथा पहाडी क्षेत्र वर्षायाममा उच्च जोखिममा रहने भएकाले प्रशासनले यस वर्ष पूर्वतयारीलाई विशेष प्राथमिकतामा राखेको जनाएको छ। विगतमा खोलामा बगेर सर्वसाधारणको ज्यान जाने, पहिरो खस्ने तथा अन्य प्राकृतिक विपद्का घटना दोहोरिँदै आएकाले यसपटक सुरुदेखि नै सतर्कता अपनाइएको प्रशासनको भनाइ छ।
प्रमुख जिल्ला अधिकारी पौडेलले विपद्को समयमा नागरिकलाई कुनै समस्या परेमा काठमाडौं प्रशासन जुनसुकै बेला सेवा दिन तयार रहेको बताए। उनका अनुसार कुनै पनि नागरिकले आपत्कालीन अवस्थामा सम्पर्क गरेमा कर्मचारीले रात वा दिन नभनी तत्काल फोन उठाउने, आवश्यक समन्वय गर्ने र उद्धार तथा राहतमा सक्रिय रूपमा खटिनेछन्।
उनले विपद् व्यवस्थापनमा ढिलाइ हुन नदिन सम्पूर्ण कर्मचारीलाई जिम्मेवारीसहित तयारी अवस्थामा राखिएको जानकारी दिए।
यसैबीच, बैठकले राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीको भीड बढ्दै गएको निष्कर्ष निकाल्दै सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन अतिरिक्त जनशक्ति परिचालन गर्ने निर्णय पनि गरेको छ। यसबाट सेवाग्राहीको लामो प्रतीक्षा र भीडभाड घटाउने लक्ष्य राखिएको प्रशासनले जनाएको छ।
कार्यालयको भौतिक व्यवस्थापन सुधार गर्दै परिसरलाई सफा, व्यवस्थित र सेवामैत्री बनाउने निर्णयसमेत बैठकले गरेको छ।
त्यस्तै, पद्मकन्या क्याम्पसबाट सुशासन, सार्वजनिक सेवा प्रवाह तथा प्रशासनिक व्यवस्थापन विषयमा इन्टर्नसिपका लागि आएका आठ जना विद्यार्थीलाई समेत सेवा प्रवाहमा सहजीकरण गर्ने गरी परिचालन गरिने भएको छ। यसबाट सेवाग्राहीलाई छिटो, सरल र प्रभावकारी सेवा उपलब्ध गराउन सहयोग पुग्ने प्रशासनको अपेक्षा छ।
प्रमुख जिल्ला अधिकारी पौडेलको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले पछिल्लो समय सेवा प्रवाहमा उल्लेखनीय सुधार गर्दै आएको छ। कार्यालयमा पब्लिक अनाउन्समेन्ट सिस्टम सञ्चालनमा ल्याइनुका साथै डिजिटल प्रविधिमैत्री सेवा विस्तार गरिएको छ। यसका कारण सेवाग्राहीले पहिलेको तुलनामा कम झन्झट र छोटो समयमै सेवा पाउन थालेका छन्।
वर्षायाममा विपद् जोखिम उच्च रहने अवस्थालाई मध्यनजर गर्दै काठमाडौं प्रशासनले अपनाएको २४ सै घण्टा तयारी’ नागरिकको सुरक्षा, उद्धार तथा द्रुत सेवा प्रवाहलाई केन्द्रमा राखेर गरिएको महत्वपूर्ण प्रशासनिक पहलका रूपमा हेरिएको छ।

