वालेट प्रयोगकर्ताले २०८३ असोजभित्र राष्ट्रिय परिचयपत्र अद्यावधिक गर्नुपर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल वालेट प्रयोगकर्ताका लागि राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक अनिवार्य गरेको छ। संशोधित एकीकृत निर्देशनअनुसार नयाँ वालेट खोल्दा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखसँग विवरण रुजु गरेर मात्र खाता खोल्नुपर्नेछ भने हालका प्रयोगकर्ताले २०८३ साल असोज मसान्तभित्र परिचयपत्रको विवरण अद्यावधिक गरिसक्नुपर्ने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकले वालेट कम्पनीहरूलाई ग्राहकसँग राष्ट्रिय परिचयपत्र भए–नभएको स्वघोषणा लिन र परिचयपत्र नभएकालाई नियमित रूपमा विवरण अद्यावधिक गर्न जानकारी गराउन निर्देशन दिएको छ। विदेशमा रहेका नेपालीले भने राष्ट्रिय परिचयपत्रबिनै अन्य आवश्यक कागजातका आधारमा वालेट खोल्न सक्नेछन्, तर नेपाल फर्किएको ३५ दिनभित्र परिचयपत्रको विवरण अद्यावधिक गर्नुपर्नेछ। अशक्त तथा असहाय नागरिकका लागि भने वैकल्पिक सरकारी कागजातका आधारमा वालेट सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ।