काठमाडौं । काठमाडौंमा द्वन्द्वपीडितहरूले सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग विश्वसनीय, पारदर्शी र पीडितमैत्री ढंगले गठन गर्न माग गर्दै माईतीघर मण्डलामा प्रदर्शन गरेका छन्। उनीहरूले आयोग गठनअघि पीडितसँग अर्थपूर्ण परामर्श, योग्य तथा निष्पक्ष आयुक्त नियुक्ति र संक्रमणकालीन न्याय प्रक्रियालाई शीघ्र निष्कर्षमा पुर्याउन सरकारसँग आग्रह गरेका छन्।
प्रदर्शनका क्रममा वक्ताहरूले २० वर्ष बितिसक्दा पनि पीडितले न्याय नपाएको भन्दै सरकार पीडितसँग संवाद गर्न उदासीन रहेको आरोप लगाए। पीडितहरूको सहभागिताविना गठन हुने आयोगले संक्रमणकालीन न्यायको उद्देश्य पूरा गर्न नसक्ने चेतावनी दिँदै माग सम्बोधन नभए आन्दोलनलाई थप सशक्त बनाइने बताएका छन्।
२०८३ श्रावण ७, बिहीबार १९:२३ प्रकाशित

