काठमाडौं । चिकित्सा शिक्षा सुधारसहित पाँचबुँदे माग राख्दै अभियन्ता डा. गोविन्द केसी बिहीबार दिउँसो ३ बजेदेखि धनगढीको कृष्ण मन्दिरस्थित धर्मशालामा अनशन बस्ने भएका छन्। उनले चिकित्सा शिक्षा आयोग र दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा भएका नियुक्ति खारेज, छात्रवृत्ति कटौती तथा निजी मेडिकल कलेजमा सिट वृद्धि सम्बन्धी निर्णय फिर्ता लिनुपर्ने लगायतका माग अघि सारेका छन्।
यता, डा. केसीका मागले गेटास्थित दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा असर पर्ने भन्दै स्थानीय तथा सामाजिक अगुवाहरूले विरोध जनाएका छन्। केही युवाले धर्मशालामा अनशन बस्न नहुने भन्दै मन्दिर परिसरमै पुगेर विरोध प्रदर्शन गरेका छन्।