पार्टी एकतामा क्षति भए नेतृत्व जिम्मेवार : शशांक कोइराला


काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टीभित्र देखिएका असन्तुष्टि, मतभेद र विवादलाई समयमै सम्बोधन गरी संगठनलाई एकताबद्ध बनाउन वर्तमान नेतृत्वले पहल गर्नुपर्ने बताएका छन्।

४४औँ वीपी स्मृति दिवसका अवसरमा जारी वक्तव्यमा उनले सबै नेता–कार्यकर्ताको स्वाभिमानको सम्मान गर्दै संवाद, सहमति र सहकार्यको वातावरण निर्माण गर्न आग्रह गरेका छन्। पार्टी एकतामा क्षति पुग्ने वा विभाजनको अवस्था आए त्यसको राजनीतिक तथा नैतिक जिम्मेवारी वर्तमान नेतृत्वले नै लिनुपर्ने उनको भनाइ छ।

कोइरालाले मुलुकले जटिल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चुनौतीको सामना गरिरहेको उल्लेख गर्दै लोकतान्त्रिक संस्थाको संरक्षण, राष्ट्रिय हित र परिपक्व राजनीतिक सहकार्यको आवश्यकता औँल्याएका छन्। साथै, कांग्रेसभित्रको असमझदारी र समूहगत अस्वस्थ प्रतिस्पर्धाले पार्टी तथा लोकतन्त्र दुवैलाई कमजोर बनाउने चेतावनी दिँदै विचारको भिन्नतालाई विभाजनको आधार नभई साझा निष्कर्षमा पुग्ने अवसरका रूपमा लिनुपर्ने बताएका छन्।

२०८३ श्रावण ६, बुधबार २०:२८ प्रकाशित
ट्रेन्डिङ समाचार