काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधीनतामा देखिएको चुनौतीको सामना गर्न परिवर्तनकारी राजनीतिक शक्तिबीच सहकार्य आवश्यक रहेको बताएका छन्।
बुधबार जनकपुरमा आयोजित मधेस प्रदेश समितिको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उनले १२ बुँदे समझदारी, शान्ति सम्झौता र संविधानसभामार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनासम्म सहकार्य गरेका दलहरूसँग पुनः मोर्चाबन्दी गर्नुपर्ने बताए। उनले नेपाली कांग्रेस, मधेस केन्द्रित दल तथा अन्य राजनीतिक शक्तिसँगको सहकार्यलाई वर्तमान चुनौती समाधानको आधारका रूपमा उल्लेख गरे।
प्रचण्डले अन्तर्राष्ट्रिय क्षेत्रमा कम्युनिस्ट तथा वामपन्थी शक्तिसँगको सम्बन्ध विस्तारलाई पनि पार्टीले प्राथमिकतामा राखेको जानकारी दिँदै संगठन विस्तारको अभियानलाई थप तीव्र बनाइने बताए।

