काठमाडौं । काठमाडौँ उपत्यकाका विभिन्न सडक लगातारको वर्षापछि जलमग्न भएका छन् । सडकमा पानी जम्दा सवारी आवतजावतमा असर परेको र दुर्घटनाको जोखिम बढेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
ट्राफिक प्रहरीले पानी जमेको सडकमा विशेष सावधानी अपनाएर सवारी चलाउन चालकलाई आग्रह गरेको छ । कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक नरेशराज सुवेदीले ट्राफिक व्यवस्थापन सामान्य रहे पनि सडक जलमग्न हुँदा एउटै लेनबाट सवारी सञ्चालन गर्नुपर्ने अवस्था सिर्जना भएकाले दुर्घटनाको सम्भावना बढेको बताउनुभयो ।
उहाँले वर्षाका कारण माइतीघर, अनामनगरलगायत उपत्यकाका विभिन्न क्षेत्रमा सडकमा पानी जमेको जानकारी दिँदै प्रभावकारी ढल तथा पानी निकास व्यवस्थापन आवश्यक रहेको बताउनुभयो । चालकलाई तीव्र गति नगर्न, सुरक्षित दूरी कायम गर्न र ट्राफिक प्रहरीको निर्देशन पालना गर्न आग्रह गरिएको छ ।

