काठमाडौं ।सामाजिक सञ्जाल प्लाटफर्म फेसबुकको वेब संस्करणमा आइतबार एक्कासि प्राविधिक समस्या देखिएको छ। नेपालसहित विभिन्न स्थानका प्रयोगकर्ताले झण्डै आधा घण्टादेखि वेब ब्राउजरमार्फत फेसबुक खोल्दा “Account Temporarily Unavailable Due to Site Issue” भन्ने सन्देश देखिएको गुनासो गरेका छन्।
प्रयोगकर्ताका अनुसार कम्प्युटर वा मोबाइलको वेब ब्राउजरबाट फेसबुक प्रयोग गर्न खोज्दा एकाउन्ट खुल्न नसकेको हो। यद्यपि फेसबुकको मोबाइल एपमार्फत भने अधिकांश प्रयोगकर्ताले सामान्य रूपमा सेवा प्रयोग गर्न सकेका छन्।
समस्याको कारणबारे फेसबुकको मातृ कम्पनी मेटाले समाचार तयार पार्दासम्म कुनै आधिकारिक जानकारी सार्वजनिक गरेको छैन। सेवा पुनःस्थापनाका लागि प्राविधिक टोलीले काम गरिरहेको वा समस्या विश्वव्यापी हो वा क्षेत्रविशेषमा सीमित हो भन्नेबारे पनि कम्पनीले स्पष्ट पारेको छैन।
यसबीच सामाजिक सञ्जालका प्रयोगकर्ताले फेसबुकमा आएको समस्याबारे व्यापक रूपमा गुनासो गरिरहेका छन्। केही प्रयोगकर्ताले यो सामान्य प्राविधिक अवरोध हुन सक्ने बताएका छन् भने केहीले नेपालमा फेसबुकको पहुँच (एक्सेस) मा सरकारी स्तरबाट कुनै हस्तक्षेप भएको हुन सक्ने अनुमानसमेत गरेका छन्। तर यस्तो दाबी पुष्टि हुने कुनै आधिकारिक प्रमाण वा जानकारी सार्वजनिक भएको छैन।
प्राविधिक अवरोधको वास्तविक कारणबारे मेटाको आधिकारिक प्रतिक्रिया आएपछि मात्रै समस्याको प्रकृति स्पष्ट हुने अपेक्षा गरिएको छ।

