सरकारले प्रतिपक्षसँग सहकार्य गर्नुपर्छ : महासेठ


जनकपुरधाम ।नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले प्रतिपक्षलाई दबाएर अघि बढ्ने सरकार सफल हुन नसक्ने बताएका छन् । जनकपुरमा आयोजित कार्यक्रममा उनले लोकतान्त्रिक शासन व्यवस्थामा सरकार र प्रतिपक्षबीच सहकार्य आवश्यक रहेको बताए ।

महासेठले वर्तमान सरकारले जनअपेक्षाअनुसार प्रभावकारी काम गर्न नसकेको दाबी गर्दै सबै राजनीतिक दललाई साथ लिएर अघि बढ्न सुझाव दिए । उनले जनताको हितलाई केन्द्रमा राखेर निर्णय गर्न सरकारलाई आग्रह गरे ।

उनले शिक्षा, स्वास्थ्य र घरजग्गा कारोबारमा थपिएको करको आलोचना गर्दै यसले सर्वसाधारणमा आर्थिक भार बढाएको बताए । करसम्बन्धी निर्णयमा पुनर्विचार गर्नुपर्ने उनको भनाइ थियो ।

मधेशबाट राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको जनमतको सम्मान गर्दै महासेठले जनताको विश्वासअनुसार काम गर्नुपर्ने बताए । उनले निजी क्षेत्रको भूमिकालाई बलियो बनाएर मात्रै आर्थिक विकास र रोजगारी सिर्जना सम्भव हुने उल्लेख गरे ।

२०८३ श्रावण ३, आईतवार १०:४१ प्रकाशित
ट्रेन्डिङ समाचार