मुक्त कमैयाको पुनःस्थापनामा सरकार गम्भीर बन्नुपर्छ : डिल्लीबहादुर चौधरी


काठमाडौं। लुम्बिनी प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले २६औँ कमैया मुक्ति दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मुक्त कमैयाको पुनःस्थापना, व्यवस्थापन र अधिकार सुनिश्चित गर्न सरकार गम्भीर बन्नुपर्ने बताएका छन्।

शनिबार जारी शुभकामना सन्देशमा उनले वि.सं. २०५७ साउन २ गते नेपाल सरकारले कमैया प्रथा अन्त्य गरी हजारौँ कमैया परिवारलाई बधुवा श्रमबाट मुक्त गरे पनि २६ वर्ष बितिसक्दा समेत धेरै मुक्त कमैयाले भूमि अधिकार, सुरक्षित आवास, रोजगारी र सम्मानजनक जीवन पाउन नसकेको उल्लेख गरेका छन्।

चौधरीले कमैया मुक्ति आन्दोलनमा योगदान पुर्‍याउने पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, विभिन्न राजनीतिक नेतृत्व, अधिकारकर्मी, सञ्चारमाध्यम तथा आन्दोलनका अगुवाप्रति कृतज्ञता व्यक्त गरेका छन्। साथै, मुक्त कमैयालाई स्वरोजगार बनाउने, उनीहरूको उत्पादन र सीपलाई बजारसँग जोड्ने अभियानमा निरन्तर साथ रहने प्रतिबद्धता पनि जनाएका छन्।

उनले मुक्त कमैयाहरू पुनः गरिबी र शोषणको दासता चक्रमा फर्किन नपरोस् भन्नेमा राज्यका तीनै तहका सरकार संवेदनशील र जिम्मेवार बन्नुपर्ने आवश्यकता औँल्याउँदै सम्पूर्णमा कमैया मुक्ति दिवसको शुभकामना व्यक्त गरेका छन्।

२०८३ श्रावण २, शनिबार १९:३५ प्रकाशित
ट्रेन्डिङ समाचार