तनहुँ । देवघाट क्षेत्रबाट सम्पर्कविहीन भएकी तनहुँ बन्दीपुर गाउँपालिका–४ टुँडीखेलकी २८ वर्षीया सन्तोषी श्रेष्ठ मृत अवस्थामा फेला पर्नुभएको छ।
सशस्त्र प्रहरी बलको गोताखोरसहितको टोलीले नारायणी नदीमा खोजी गर्ने क्रममा उहाँको शव नवलपुरको त्रिवेणीधाम क्षेत्रमा फेला पारेको हो। कपडा, हातको औँठी र कानको रिङका आधारमा परिवारले शवको पहिचान गरेका हुन्।
प्रहरीका अनुसार श्रेष्ठ गत असार १४ गते साँझ चितवनको गैँडाकोट नगरपालिका–२ स्थित डेराबाट स्कुटर लिएर निस्किएपछि सम्पर्कविहीन हुनुभएको थियो। खोजीका क्रममा उहाँको स्कुटर देवघाट गाउँपालिका–५ स्थित हनुमानचोकमा भेटिएको थियो।
श्रेष्ठ भरतपुर अस्पताल नर्सिङ कलेजमा बीएनएस तेस्रो वर्षमा अध्ययनरत छात्रा हुनुहुन्थ्यो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।