काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न ९१ दिन अवधिको १ खर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। यसका लागि ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोलमार्फत आवेदन दिन सक्नेछन्।
बोलकबोलबाट ब्याजदर निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ। संकलित निक्षेपको साँवा तथा ब्याज आगामी असोज २८ गते भुक्तानी गरिनेछ। निक्षेप संकलन उपकरणमा लगानी गरिएको रकम अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना नहुने भए पनि वैधानिक तरलता अनुपात (एसएलआर) र तरलता अनुपातमा गणना गर्न सकिने व्यवस्था गरिएको छ।
२०८३ असार ३१, बुधबार १९:४७ प्रकाशित



