६ लाख घुससहित चुलाचुली गाउँपालिकाका इन्जिनियर रंगेहात पक्राउ
पुलको रिडिजाइन स्वीकृति र ठेक्का भुक्तानी सहज गराइदिने भन्दै सेवाग्राहीसँग घुस मागेको आरोप
काठमाडौं । इलामको चुलाचुली गाउँपालिकामा कार्यरत एक इन्जिनियर ६ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार पक्राउ पर्ने व्यक्ति चुलाचुली गाउँपालिकाका इन्जिनियर डिल्लीराज खड्का हुन्। आयोगको टोलीले उनलाई बुधबार झापाको दमक नगरपालिका–१ स्थित एक खाजाघरबाट ६ लाख रुपैयाँ घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको हो।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार इन्जिनियर खड्काले पुलको रिडिजाइन स्वीकृत गराइदिने तथा ठेक्काको भुक्तानी प्रक्रिया सहज बनाइदिने भन्दै सेवाग्राहीलाई अनावश्यक दुःख र हैरानी दिएर घुस मागेका थिए।
सेवाग्राहीबाट घुस मागिएको उजुरीका आधारमा अख्तियारको टोलीले निगरानी बढाएको थियो। सोही क्रममा घुस रकम बुझ्दै गरेको अवस्थामा उनलाई रंगेहात पक्राउ गरिएको आयोगले जनाएको छ।
अख्तियारले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।