काठमाडौ ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको सचिव सरुवा निर्णय बुधबार मात्रै सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ताले मंगलबारको मन्त्रिपरिषद् बैठकले सचिवको सरुवा गरेको कुनै कुरा उल्लेख गरेका थिएनन् तर बुधबार एकाएक सचिव सरुवा भएको सार्वजनिक भएको हो ।मंगलबारको मन्त्रिपरिषद् बैठकले गरेको सरुवा निर्णय अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउत लाई महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ । यस्तै महिला मन्त्रालयकी सचिव राधिका अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त समुहमा सरुवा गरिएको छ ।
यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ । यस्तै राष्ट्रिय सतर्कता केन्द्रका दीनानाथ मिश्रलाई विज्ञान प्रविधि तथा नवप्रवद्र्धन मन्त्रालयमा र पूर्वाधार विकास मन्त्रालयका विश्वबाबु पुडासैनीलाई राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।



