काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाली वायुसेवा कम्पनीका जहाज मर्मतका लागि १२ देशका ४० वटा विदेशी मर्मत केन्द्रलाई आधिकारिक मान्यता दिएको छ।
क्यानको एयरवर्दिनेस इन्स्पेक्सन डिभिजनका अनुसार हाल मान्यता पाएका संस्थामध्ये नेपाल वायुसेवा निगमले आफ्नो ए–३३०–२०० वाइडबडी जहाजको सिचेक (ठूलो मर्मत) का लागि इटालीको एटीटेक प्रयोग गरिरहेको छ। निगमले दुई वर्षदेखि जहाज मर्मतका लागि उक्त संस्थामा पठाउँदै आएको छ।
क्यानले इटालीको नेपल्सस्थित एटीटेकलाई सन् २०२४ मा मर्मत अनुमति दिएको थियो। युरोपेली उड्डयन सुरक्षा एजेन्सी (ईएएसए) बाट समेत प्रमाणित एटीटेकको नेपालका लागि मान्यता सन् २०२७ फेब्रुअरी २८ सम्म कायम रहनेछ।
क्यानको सूचीअनुसार सबैभन्दा धेरै भारतका ८ वटा मर्मत केन्द्रले अनुमति पाएका छन्। त्यस्तै सिंगापुर र चीनका ५–५, क्यानडाका ५, मलेसियाका ४ तथा अमेरिका, थाइल्याण्ड, फ्रान्स, अस्ट्रेलिया, जर्मनी, डेनमार्क र इटालीका संस्थाहरू पनि सूचीमा छन्।
नेपालमा ठूला जहाजको जटिल मर्मत र इन्जिन ओभरहल गर्ने सुविधा नभएकाले नेपाली वायुसेवा कम्पनीहरू विदेशी मर्मत केन्द्रमा निर्भर छन्। क्यानले प्राविधिक क्षमता, उपकरण, जनशक्ति र सुरक्षा मापदण्डको मूल्यांकनपछि मात्रै विदेशी संस्थालाई मर्मत अनुमति दिने गरेको छ।



