पोखरा । पोखरा महानगरपालिका–सेदीमा अवैध रूपमा अनलाइन सट्टेबाजी (बेटिङ) सञ्चालन गर्दै आएको गिरोहका आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गण्डकी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले स्थानीय जीवन श्रेष्ठको घरमा सातवटा कोठा भाडामा लिएर ‘सफ्टवेयर’ कामको बहानामा बेटिङ सञ्चालन भइरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीले बरामद गरेका कम्प्युटर तथा डिजिटल विवरणबाट करिब २० करोड ६९ लाख ८९ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
पक्राउ पर्नेमा भारतका सत्यम सिंहसहित हर्ष उसरेटे, विशाल चाउ, जमान सिंह तमार, विक्रान सिंह, अजितेशकुमार मिश्र, सत्यम राजपूत र नेपालका दार्चुलाका दिनेश सिंह बोहोरा रहेका छन् ।
प्रहरीका अनुसार गिरोहले टेलिग्राम र ह्वाट्सएपमार्फत ‘गुरुभाइ २४७ डट प्रो’ नामक लिङ्क प्रयोग गरी प्रयोगकर्तालाई जोडेर क्रिकेट, फुटबल र क्यासिनोमा अनलाइन सट्टेबाजी गराउँदै आएको थियो ।
घटनास्थलबाट प्रहरीले ७ थान ल्यापटप, ६ थान मनिटर, ३१ थान मोबाइल, भारतीय सिमकार्ड, राउटरलगायतका विद्युतीय सामग्री बरामद गरेको छ ।
प्रहरीले यो गतिविधिमा अन्तरदेशीय गिरोहको संलग्नता रहेको आशंका गर्दै थप अनुसन्धान भइरहेको जनाएको छ । अनुसन्धानका क्रममा पोखरामा सञ्चालित उक्त केन्द्र भारतमा रहेको नेटवर्कको २७औँ शाखा भएको खुलेको प्रहरीको भनाइ छ ।



