काठमाडौँ । काठमाडौँ उपत्यकाको प्रमुख खानेपानी आपूर्ति केन्द्र सुन्दरीजल आसपासका बासिन्दा वर्षौंदेखि नियमित खानेपानी सेवाबाट वञ्चित भएका छन्।
मेलम्चीको पानी सुन्दरीजलमा प्रशोधन गरी उपत्यकामा वितरण गरिए पनि गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका धेरै बस्तीमा पर्याप्त पानी नआउँदा स्थानीय ढुङ्गेधारा, कुवा र सार्वजनिक धारामा निर्भर हुन बाध्य छन्।
काठमाडौँ क्षेत्र नं ३ का सांसद राजुनाथ पाण्डेले स्थानीय समस्या समाधान नभए मेलम्चीको पानी राजधानीमा आपूर्ति हुन नदिने चेतावनी दिएपछि सुन्दरीजल पानी प्रशोधन केन्द्रमा केयुकेएलका प्रतिनिधिसँग छलफल गरिएको छ। उनले स्थानीयलाई नियमित खानेपानी उपलब्ध गराउन आवश्यक पहल गर्न निर्देशन दिएका छन्।
स्थानीयवासीका अनुसार सार्वजनिक धारामा पानी लिन घण्टौँ लाइन बस्नुपर्ने अवस्था छ। कागेश्वरी मनोहरा–३ की सावित्री सापकोटाले खानेपानीका लागि टाढासम्म हिँडेर जानुपर्ने र पालो कुर्नुपर्ने बाध्यता रहेको बताइन्।
केयुकेएलका प्रबन्ध निर्देशक रामरतन साहले पुरानो वितरण प्रणालीका कारण समस्या भएको स्वीकार गर्दै नयाँ वितरण प्रणाली निर्माण गर्न पहल भइरहेको जानकारी दिए। स्थानीयले भने पुरानो वाग्मती पानी प्रशोधन केन्द्रको मर्मत गरी शुद्ध र नियमित खानेपानी उपलब्ध गराउन माग गरेका छन्।



