चीनमा ‘बाभी’ आँधीको ताण्डव, १७ लाखभन्दा बढी मानिस विस्थापित


काठमाडौं ।  शक्तिशाली समुद्री आँधी ‘बाभी’ चीनको पूर्वी तटीय क्षेत्रमा ठोक्किएपछि ठूलो विपद् निम्तिएको छ। एक हप्तामै चीनमा आएको यो दोस्रो शक्तिशाली आँधी हो।

आँधीको जोखिमलाई मध्यनजर गर्दै झेजियाङ र आसपासका क्षेत्रबाट १७ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। ताइझोउ र वेन्झोउ सहरमा ठोक्किएको आँधीलाई हाल ‘श्रेणी १’ मा राखिएको छ।

आँधीका कारण पूर्वी झेजियाङ र उत्तर–पूर्वी फुजियानमा अत्यधिक भारी वर्षाको चेतावनी दिइएको छ। विद्यालय, कलकारखाना तथा बाहिरी गतिविधि बन्द गरिएका छन् भने सयौँ उडान र रेल सेवा रद्द भएका छन्।

यसअघि ‘बाभी’ले फिलिपिन्समा पहिरो निम्त्याउँदा कम्तीमा १७ जनाको मृत्यु भएको थियो। गुआम, जापान र ताइवानमा पनि यसले भारी वर्षा र क्षति पुर्‍याएको थियो।

२०८३ असार २८, आईतवार १५:५१ प्रकाशित
ट्रेन्डिङ समाचार