काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले कर्जा भुक्तानी नगर्ने ऋणीहरूको धितोमा रहेको घरजग्गा लिलाम गर्ने प्रक्रिया अघि बढाएको छ ।
बैंकले सार्वजनिक सूचना जारी गर्दै ७ दिनभित्र शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको हो । बैंकका अनुसार कर्जा सम्झौताका सर्त उल्लंघन गरी पटक–पटक ताकेता गर्दा पनि बक्यौता रकम नतिरेपछि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र ऋण असुली ऐन, २०५८ अनुसार धितो लिलाम गर्न लागिएको हो ।
बैंकले मोरङको विराटनगरस्थित महावीर अटोमोबाइल्ससँग सम्बन्धित ऋणी तथा जमानतकर्ताको नाममा रहेको घरजग्गा र काठमाडौंको धर्ती कम्प्युटर सर्भिसेज प्रालि तथा सञ्चालकहरूको नाममा रहेको ललितपुर र काठमाडौंका विभिन्न स्थानका जग्गा लिलाम गर्ने जनाएको छ ।
इच्छुक व्यक्ति, फर्म वा कम्पनीले तोकिएको समयभित्र शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बैंकले धितोमा रहेका सम्पत्ति हालको अवस्थामै लिलाम गर्ने र ऋणीले सम्पूर्ण बक्यौता रकम बुझाएमा प्रक्रिया जुनसुकै समयमा रोक्न सकिने जनाएको छ ।



