सुकुम्वासी व्यवस्थापनमा सरकार असफल भएको कांग्रेस नेता आङ्देम्बेको आरोप


काठमाडौँ  ।  नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुम्वासी बस्ती हटाइएपछि प्रभावित नागरिकको सुरक्षित व्यवस्थापन गर्न सरकार असफल भएको आरोप लगाएका छन्।

उनले जोखिमबाट जोगाउने भन्दै गरिएको स्थानान्तरणले नागरिकलाई झन् कठिन अवस्थामा पुर्‍याएको बताए। प्रधानमन्त्री बालेनले सुरक्षित र व्यवस्थित स्थानान्तरण गर्ने प्रतिबद्धता जनाए पनि त्यसको कार्यान्वयन नभएको उनको भनाइ छ।

कीर्तिपुरस्थित होल्डिङ सेन्टर नै डुबानमा परेपछि आश्रय लिइरहेका सुकुम्वासीहरू पुनः जोखिममा परेको उल्लेख गर्दै आङ्देम्बेले सरकारले एउटा समस्याबाट निकालेर अर्को संकटमा धकेलेको टिप्पणी गरे।

उनका अनुसार प्रभावित नागरिक अहिले पनि भोक, हिलो, पानी र अभावबीच कष्टकर जीवन बिताउन बाध्य छन्। उनले यस अवस्थालाई राज्यको गैरजिम्मेवारी र कमजोर व्यवस्थापनको उदाहरण बताए।

होल्डिङ सेन्टरमा पीडितको अवस्था बुझ्न पुगेका युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति पनि उनले आपत्ति जनाउँदै लोकतन्त्रमा प्रश्न गर्ने अधिकारमाथि हस्तक्षेप गर्न नहुने बताए।

आङ्देम्बेले प्रधानमन्त्रीलाई सुकुम्वासी नागरिकसँग गरिएको प्रतिबद्धता पूरा गर्न र अवस्थाबारे स्पष्ट जवाफ दिन आग्रह गरेका छन्।

२०८३ असार २८, आईतवार १५:२८ प्रकाशित
ट्रेन्डिङ समाचार