काठमाडौं । आज लाखौं युवाको आकर्षणको केन्द्र बनेको लोकसेवा आयोगले आफ्नो पहिलो विज्ञापन कुन पदका लागि र कति जनाका लागि निकालेको थियो भन्ने तथ्य धेरैलाई थाहा नहुन सक्छ।
इतिहास पल्टाउँदा, लोकसेवा आयोगले आफ्नो पहिलो विज्ञापन जम्मा ६ पदका लागि प्रकाशित गरेको देखिन्छ। २००८ साल असार १ गते पब्लिक सर्भिस कमिशनका रूपमा स्थापना भएको आयोगले स्थापनाको करिब दुई महिनापछि, २००८ साल भदौ १८ गते पहिलो पटक कर्मचारी भर्नाको सूचना प्रकाशित गरेको थियो।
आयोगको हीरक जयन्ती स्मारिकाअनुसार, पब्लिक सर्भिस कमिशनको सूचना नं. १ मार्फत अर्थ मन्त्रालयअन्तर्गत सदर तथा भन्सार अड्डामा नियुक्त हुने उद्देश्यले भारतमा भन्सारसम्बन्धी तालिम लिन ६ जना ग्राजुएट आवश्यक रहेको भन्दै पहिलो विज्ञापन प्रकाशित गरिएको थियो। यही विज्ञापनलाई आयोगको औपचारिक भर्ती प्रक्रियाको सुरुआत मानिन्छ।
रोचक पक्ष के भने, तत्कालीन पब्लिक सर्भिस कमिशनले निजामती सेवाका कर्मचारी मात्र होइन, उच्च शिक्षाका प्राध्यापकसमेत छनोट गर्ने जिम्मेवारी निर्वाह गर्दथ्यो। आयोगको सूचना नं. ४ मार्फत त्रिचन्द्र कलेजका लागि इतिहास तथा राजनीतिशास्त्र विषयका दुई जना प्रोफेसर पदमा समेत विज्ञापन प्रकाशित गरिएको थियो।
त्यस्तै, आयोगले २०१२ सालदेखि ग्राजुएट अफिसर र नन–ग्राजुएट अफिसर पदका लागि नियमित विज्ञापन तथा परीक्षा सञ्चालन गर्न थालेको थियो। त्यसबेलाको प्रशासनिक संरचनाअनुसार शाखा अधिकृतभन्दा माथिका पदलाई ‘पोस्ट ग्राजुएट अफिसर’ र शाखा अधिकृतभन्दा तलका पदलाई ‘ग्राजुएट अफिसर’ भनेर चिनिने प्रचलन रहेको आयोगको अभिलेखमा उल्लेख छ।
सात दशकभन्दा बढीको यात्रामा लोकसेवा आयोगको कार्यक्षेत्र, परीक्षा प्रणाली र सेवा विस्तार व्यापक रूपमा परिवर्तन भए पनि, ६ जना ग्राजुएटको खोजीबाट सुरु भएको त्यो पहिलो विज्ञापन आज नेपालको सार्वजनिक प्रशासनको इतिहासमा एउटा महत्वपूर्ण अध्यायका रूपमा दर्ज छ।




