आत्मदाह घटनाप्रति बस्नेतको आक्रोश, सरकारलाई चेतावनी


काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले देशमा भइरहेका आत्मदाहका घटनाप्रति चिन्ता व्यक्त गर्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन्।

बस्नेतले सामाजिक सञ्जाल फेसबुकमार्फत नागरिकमा बढ्दै गएको निराशा र असन्तुष्टिको अवस्था गम्भीर रहेको बताएका छन्। उनले पछिल्ला आत्मदाहका घटनाले समाजमा उत्पन्न पीडा र असहायपन देखाएको उल्लेख गरे।

उनका अनुसार गणेश नेपालीको घटनापछि सर्लाहीका विवेक मण्डल र काठमाडौँ बुद्धनगरका अश्विन राउतले समेत आत्मदाहको प्रयास गरेका छन्। उनले यस्ता घटना अत्यन्त दुःखद भएको भन्दै घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेका छन्।

बस्नेतले वर्तमान सरकारले विगतका दल र नेतामाथि आरोप लगाएर जनतामा ठूलो अपेक्षा सिर्जना गरेको तर परिणाम नआउँदा निराशा बढेको दाबी गरे।

उनले जनताको समस्या समाधान गर्न संवाद, जिम्मेवारी र सुशासन आवश्यक रहेको बताउँदै आत्मदाह वा हिंसा कुनै पनि समस्याको समाधान नभएको स्पष्ट पारे।

२०८३ असार २७, शनिबार १६:०७ प्रकाशित
ट्रेन्डिङ समाचार