काठमाडौँ। देशभर मनसुनी वायुको प्रभाव बढेसँगै विभिन्न स्थानमा वर्षा भइरहेको छ। काठमाडौँ उपत्यकासहित आसपासका जिल्लाका स–साना नदी तथा खोलामा आकस्मिक बाढीको उच्च जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे लगायतका क्षेत्रमा बहने नदीहरूमा अचानक बहाव बढ्न सक्ने सम्भावना छ। यस्तै ३१ जिल्लाका स–साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।
हाल प्रमुख नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहे पनि आगामी दुई दिनसम्म सातै प्रदेशका स–साना नदीमा पानीको सतह बढ्न सक्ने अनुमान गरिएको छ।
महाशाखाले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन र आवश्यक सुरक्षा उपाय अपनाउन आग्रह गरेको छ।


२०८३ असार २७, शनिबार ११:०२ प्रकाशित



