प्रधानमन्त्री शाहलाई महासंघको सुझाव : सरकार नियामक होइन, सहजीकरणकर्ता बन्नुपर्छ


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा लगानी प्रवर्द्धन र आर्थिक विकासका लागि सरकारको भूमिका नियामकभन्दा सहजीकरणकर्ता र समन्वयकर्ताको हुनुपर्ने सुझाव दिएको छ।

महासंघ अध्यक्ष अञ्जन श्रेष्ठले अर्थतन्त्रलाई गतिशील बनाउन संरक्षणवाद, अनौपचारिक अर्थतन्त्र र प्रशासनिक झन्झट हटाउने गरी साहसिक निर्णय आवश्यक रहेको बताए। उनले निजी क्षेत्रसँग सहकार्य गर्दै सरकार अघि बढ्नुपर्नेमा जोड दिए।

श्रेष्ठले न्यून माग, लगानी सुस्तता र बढ्दो नियामकीय दबाबका कारण व्यवसायीको मनोबल कमजोर बनेको उल्लेख गर्दै अर्थतन्त्रलाई पुनः चलायमान बनाउन विशेष पहल आवश्यक रहेको बताए।

भेटमा प्रधानमन्त्री शाहले आर्थिक विकास र समृद्धिका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको भन्दै सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको महासंघले जनाएको छ।

महासंघले ७ प्रतिशत आर्थिक वृद्धिदर, प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर पुर्‍याउने र रोजगारी सिर्जनाका लक्ष्य हासिल गर्न कर्जा, तरलता र सम्पत्तिको समस्या समाधान गर्नुपर्ने सुझाव दिएको छ।

त्यस्तै, साना तथा मझौला उद्योगको पुनरुत्थान प्याकेज, कृषि व्यवसायीकरण, औद्योगिक पूर्वाधार विकास, कर प्रणाली सुधार, निर्यात प्रोत्साहन तथा पुराना कानुन संशोधन गर्न पनि महासंघले सरकारको ध्यानाकर्षण गराएको छ।

२०८३ असार २६, शुक्रबार १५:५७ प्रकाशित
ट्रेन्डिङ समाचार