काठमाडौं। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम विराटनगरका ६ वटा खाद्य व्यवसायको अनुगमन तथा निरीक्षण गरेको छ।
कार्यालयले विभिन्न मितिमा गरेको अनुगमनका क्रममा खाद्य उत्पादन तथा बिक्रीस्थलमा सरसफाइको कमी, पानी जम्ने समस्या, भण्डारणको उचित व्यवस्थापन नभएको तथा अखाद्य पदार्थ र औद्योगिक रंग प्रयोग भएको पाइएको जनाएको छ।
अनुगमनका क्रममा कृष्णा क्याटरिङबाट ५०० ग्रामका तीन थान र १०० ग्रामको एक थान हाइड्रो, कृत्रिम खाद्य रंग प्रयोग भएको एक किलो बुनिया तथा १०० ग्रामका १२ वटा औद्योगिक रंग नष्ट गरिएको छ।
त्यस्तै, विराटनगर बजारका पसल तथा पानी ढुवानी गर्ने स्थानमा गरिएको अनुगमनका क्रममा पुराना तथा कुच्चिएका ५६ वटा पानीका जार नष्ट गरिएको कार्यालयले जनाएको छ।
अनुगमन गरिएका व्यवसायलाई खाद्य तथा अखाद्य वस्तु छुट्टाछुट्टै भण्डारण गर्न, उत्पादनस्थलमा पानी नजम्ने व्यवस्था मिलाउन, सरसफाइमा सुधार गर्न तथा खाद्य वस्तु तयार गर्दा अखाद्य पदार्थ प्रयोग नगर्न निर्देशन दिइएको छ। कैफियत सुधार गरी प्रमाणसहित कार्यालयमा उपस्थित हुनसमेत सम्बन्धित व्यवसायलाई निर्देशन दिइएको कार्यालयले जनाएको छ।
