काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागअन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराले पोखरा–९ स्थित दुई विद्यालयका क्यान्टिनमा अनुगमन तथा निरीक्षण गरेको छ।
अनुगमनका क्रममा श्री नवप्रभात माध्यमिक विद्यालय र श्री महेन्द्र माध्यमिक विद्यालयका क्यान्टिनमा भान्साको सरसफाइ कमजोर, खुला फोहोरदानी, खाद्य पदार्थमा प्रत्यक्ष सम्पर्क हुने गरी पत्रपत्रिका तथा मसीले लेखिएका कागज प्रयोग गरिएको र पकाइने खानेकुरामा कृत्रिम खाद्य रंग प्रयोग गरिएको पाइएको कार्यालयले जनाएको छ।
महेन्द्र माविको क्यान्टिनमा झ्याल–ढोकामा जालीको व्यवस्था नभएको तथा फ्रिजको व्यवस्थापनसमेत अव्यवस्थित पाइएको थियो। कार्यालयले सरसफाइ सुधार, कृत्रिम खाद्य रंग प्रयोग नगर्न, खाद्य पदार्थ ढाकेर राख्न, ढकनीसहितको फोहोरदानी प्रयोग गर्न तथा कामदारलाई एप्रोन, हेअरनेट र मास्क अनिवार्य लगाउन निर्देशन दिएको छ।
अनुगमनका क्रममा महेन्द्र मावि क्यान्टिनबाट करिब रु. ३०० मूल्य बराबरको खाद्य पदार्थ नष्ट गरिएको कार्यालयले जनाएको छ।
