काठमाडौं । नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले रसुवा बाढीपछि नागरिकको उद्धार तथा व्यवस्थापनमा सरकार चुकेको आरोप लगाउनुभएको छ।
बिहीबार बसेको पूर्वाधार विकास समितिको बैठकमा थापाले बाढीपछिका पहिलो दुई दिन उपलब्ध स्रोतसाधनअनुसार उद्धार र राहतमा काम भए पनि त्यसपछि योजनाबद्ध रूपमा अघि बढ्न नसकेको बताउनुभयो। उहाँले विपद्का बेला मित्रराष्ट्रको सहयोग समयमै लिन नसक्दा समस्या थपिएको दाबी गर्नुभयो।
थापाका अनुसार जलविद्युत आयोजनाका टनेलभित्र रहेका मानिसको अझै उद्धार हुन सकेको छैन। विशेषगरी त्रिशूली–३ ए आयोजनाको टनेलभित्र मानिस जीवितै रहेको हुनसक्ने भन्दै उद्धार प्रयास तत्काल जारी राख्नुपर्ने उहाँले बताउनुभयो।
सरकारले टनेलभित्रबाट मानिसको उद्धार गरिएको भन्दै गलत प्रचार गरेको आरोप लगाउँदै उहाँले स्थानीय तह र प्रदेश सरकारसँग पनि प्रभावकारी समन्वय हुन नसकेको बताउनुभयो।
राहत सामग्री पर्याप्त भए पनि पूर्वाधार अभाव र वितरण व्यवस्थापनका कारण प्रभावितसम्म पुग्न नसकेको भन्दै थापाले बाढी प्रभावित क्षेत्रमा विद्युत् सेवा तत्काल पुनःस्थापना गर्न सरकारसँग माग गर्नुभयो।
