काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार दिउँसो २ बजेसम्म १ हजार २५२ जनाको शव फेला परेको छ।
नेपाल प्रहरीले दिएको विवरणअनुसार रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, चितवनमा ३५५, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८ र नवलपरासी पश्चिममा १९० शव फेला परेका छन्। भारतमा फेला परेको १८ शव नवलपरासी पश्चिम ल्याइएको छ।
हालसम्म ९५ शव आफन्तलाई बुझाइएको छ भने ८९७ शव आवश्यक प्रक्रिया पूरा गरी सुरक्षित रूपमा व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। पहिचान नभएका ९६० शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा राखिएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत तथा शव व्यवस्थापनका लागि ७ हजार ९१२ प्रहरी परिचालन गरिएको छ। अझै ४ हजार ८७५ जना बेपत्ता रहेको र विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा ३ हजार १०३ जनालाई राखिएको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
