काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेपछि सेयर बजार परिसूचक नेप्से लगातार घटेको छ । पछिल्ला तीन कारोबार दिनमा नेप्से सूचक ५० अंकले घटेको हो ।
मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्टदेखि नेप्सेमा गिरावट सुरु भएको हो । बुधबार ३०.०९ अंक, बिहीबार १९.६७ अंक र शुक्रबार १.१३ अंकले बजार घट्दै २६००.७८ बिन्दुमा बन्द भएको छ ।
राष्ट्र बैंकको मौद्रिक नीतिमा संस्थाको सबलताका आधारमा सेयर धितो कर्जा सीमा निर्धारण गर्ने व्यवस्था उल्लेख भएपछि लगानीकर्तामा अन्योल देखिएको छ । हाल सेयर धितो कर्जा १८० दिनको औसत मूल्य वा वर्तमान मूल्यमध्ये कम मूल्यको ७० प्रतिशतसम्म उपलब्ध हुँदै आएको छ ।
शुक्रबार बजार सूचक सामान्य घटे पनि कारोबार रकम भने बढेको छ । बिहीबार ४ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएकोमा शुक्रबार ६ अर्ब ८६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
शुक्रबार नेप्सेमा १२० कम्पनीको सेयर मूल्य बढ्दा १३५ कम्पनीको घटेको छ भने १९ कम्पनीको मूल्य स्थिर रहेको छ । कारोबार भएका अधिकांश समूहमा गिरावट देखिएको छ ।



