फेरि सरुवा क्यालेन्डर मिच्यो सामान्य प्रशासनले, दर्जनौ शाखा अधिकृत, उपसचिव सहित झण्डै सय कर्मचारीको अन्तरमन्त्रालय सरुवा (सरुवा सूची सहित)

भदौमै गर्नुपर्ने सरुवा वर्षभरि, कार्यालय सहयोगीदेखि उपसचिवसम्म प्रभावित; आफ्नै ऐन–नियम पालना नगरेको भन्दै मन्त्रालयमाथि प्रश्न


काठमाडौं ।  भूमि व्यवस्था, सहकारी ,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले फेरि एकपटक सरुवा क्यालेन्डरलाई बेवास्ता गर्दै झण्डै एक सय कर्मचारीको अन्तरमन्त्रालय सरुवा गरेको छ। पछिल्ला केही दिनयता मन्त्रालयले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत कार्यालय सहयोगीदेखि उपसचिवसम्मका कर्मचारीको सरुवा गरेको हो।

निजामती सेवा ऐन तथा नियमावलीअनुसार अन्तरमन्त्रालयस्तरको नियमित सरुवा प्रत्येक वर्ष भदौ महिनामा गर्ने व्यवस्था छ। तर सोही कानुन कार्यान्वयन गराउने जिम्मेवारी बोकेको सामान्य प्रशासन मन्त्रालयले वर्षौंदेखि उक्त व्यवस्थालाई बेवास्ता गर्दै वर्षभरि नै अन्तरमन्त्रालय सरुवा गर्दै आएको भन्दै कर्मचारी वृत्तमा असन्तुष्टि बढ्दै गएको छ।

कर्मचारीहरूका अनुसार सरुवा क्यालेन्डरको उद्देश्य प्रशासनलाई पूर्वानुमेय, व्यवस्थित र पारदर्शी बनाउनु हो। तर मन्त्रालयले पटक–पटक अपवादलाई नियम बनाउँदै वर्षभरि सरुवा गर्दा कर्मचारी व्यवस्थापन, कार्यालय सञ्चालन तथा व्यक्तिगत योजना सबै प्रभावित हुने गरेका छन्।

सामान्य प्रशासन मन्त्रालयले यसअघि पनि पटक–पटक ठूलो संख्यामा कर्मचारी सरुवा गर्दै आएको छ। पछिल्लो निर्णयले फेरि सरुवा प्रणालीको विश्वसनीयतामाथि प्रश्न उठाएको कर्मचारीहरूको भनाइ छ।

कानुनको पालना गराउनुपर्ने निकाय स्वयंले कानुनको मर्मविपरीत अभ्यास दोहोर्याइरहेको भन्दै प्रशासनिक वृत्तमा आलोचना भइरहेको छ। कर्मचारीहरू भन्छन्, “यदि सरुवा क्यालेन्डर आवश्यक छैन भने त्यसलाई कानुनमा किन राखिएको छ ? र यदि कानुनमै छ भने त्यसको पालना किन हुँदैन ?”

यस्तै निर्णयहरूले कर्मचारी प्रशासनमा दोहोरो मापदण्डको अनुभूति गराएको टिप्पणीसमेत हुन थालेको छ। मन्त्रालयको नेतृत्वमा रहेका मन्त्री प्रतिभा रावल तथा सचिव मदन भुजेलको कार्यकालमा पनि सरुवा क्यालेन्डरबाहिरका निर्णयहरू निरन्तर दोहोरिइरहेको भन्दै यसको औचित्यबारे प्रश्न उठ्न थालेको छ।

प्रशासनविद्हरूको भनाइमा सरुवा प्रणाली कानुन र निश्चित मापदण्डअनुसार सञ्चालन हुन सके मात्र निजामती प्रशासनमा निष्पक्षता, स्थायित्व र सुशासनको अनुभूति हुन सक्छ। अन्यथा, सरुवालाई लिएर विवाद र आशंका अझै बढ्ने देखिन्छ।

यस्तो छ सरुवा सूची

 

 

 

२०८३ असार २५, बिहीबार २२:०७ प्रकाशित
ट्रेन्डिङ समाचार