काठमाडौं । निजामती सेवामा कर्मचारीको आचरण, अनुशासन र कार्यसम्पादनलाई थप जिम्मेवार बनाउने उद्देश्यका साथ राष्ट्रिय किताबखाना र राष्ट्रिय सतर्कता केन्द्रले संयुक्त रूपमा कर्मचारीको आचरणसम्बन्धी विवरण अभिलेखीकरणको काम सुरु गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हालै सम्पन्न समन्वय बैठकको निर्णयअनुसार राष्ट्रिय किताबखानाले राष्ट्रिय सतर्कता केन्द्रलाई व्यक्तिगत सूचना प्रणाली (PIS) मा प्रवेश गरी सम्बन्धित कर्मचारीमाथि भएका आचरणगत कारबाही अभिलेख गर्न सक्ने पहुँच उपलब्ध गराइसकेको छ। साथै, कर्मचारीको अनुशासनसम्बन्धी विवरण अझ स्पष्ट र व्यवस्थित रूपमा राख्न सकिने गरी पीआईएस प्रणालीलाई आवश्यक रूपमा परिमार्जन (कस्टमाइजेसन) गर्ने कामसमेत अघि बढाइएको छ।
राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलका अनुसार यस व्यवस्थाले कर्मचारीको अनुशासनसम्बन्धी कारबाहीलाई पहिलोपटक व्यवस्थित डिजिटल अभिलेखमा ल्याउनेछ। यसबाट कर्मचारी व्यवस्थापन, सरुवा, पदस्थापन, जिम्मेवारी तोक्ने तथा अन्य प्रशासनिक निर्णय गर्दा सम्बन्धित कर्मचारीको आचरणसमेत आधार बन्ने अपेक्षा गरिएको छ।
हालसम्म निजामती सेवा ऐनमा स्पष्ट व्यवस्था हुँदाहुँदै पनि समयपालन नगर्ने, माथिल्लो अधिकारीको निर्देशन अवज्ञा गर्ने वा कार्यालयीय काममा लापरवाही तथा ढिलासुस्ती गर्ने कर्मचारीलाई दिइने चेतावनी प्रायः व्यक्तिगत अभिलेखमा समावेश हुने गरेको थिएन। कतिपय अवस्थामा चेतावनी दिइए पनि त्यसको आधिकारिक रेकर्ड नराखिँदा कर्मचारीको वास्तविक कार्यव्यवहार व्यवस्थापनका क्रममा ओझेलमा पर्ने गरेको थियो।
यसका कारण कमजोर कार्यसम्पादन वा अनुशासनहीन आचरण भएका कर्मचारीसमेत पदस्थापन, जिम्मेवारी वा अन्य व्यवस्थापकीय निर्णयमा समान रूपमा लाभान्वित हुने अवस्था देखिँदा निर्णयको पारदर्शिता र औचित्यमाथि प्रश्न उठ्ने गरेको प्रशासनिक अधिकारीहरूको भनाइ छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सम्पन्न समन्वय बैठकले अब यस्ता सबै आचरणसम्बन्धी विवरण सम्बन्धित कर्मचारीको व्यक्तिगत सेवा अभिलेखमै समावेश गर्ने र सरोकारवाला निकायले कर्मचारी व्यवस्थापनसम्बन्धी निर्णय गर्दा त्यसलाई आधार बनाउन निर्देशन दिएको छ।
महानिर्देशक पोखरेलले आफ्नो जिम्मेवारी क्षेत्रभित्र पर्ने कार्यलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न राष्ट्रिय किताबखाना प्रतिबद्ध रहेको बताए।
दफा ५५(क) मा के व्यवस्था छ ?
निजामती सेवा ऐन, २०४९ को दफा ५५(क) ले कर्मचारीको आचरणसम्बन्धी तीन अवस्थालाई स्पष्ट रूपमा उल्लेख गरेको छ। तीमध्ये कुनैमा त्रुटि देखिएमा सम्बन्धित सुपरिवेक्षकले कारण खुलाएर कर्मचारीलाई चेतावनी दिन सक्ने कानुनी व्यवस्था छ। साथै, त्यस्तो चेतावनी कर्मचारीको व्यक्तिगत सेवा अभिलेखमा समावेश गर्नुपर्ने व्यवस्था पनि ऐनले गरेको छ।
दफा ५५(क) अनुसार चेतावनी दिन सकिने अवस्था:
- समयको पालना नगरेमा,
- सरकारी कामसम्बन्धी विषयमा माथिल्लो अधिकारीले दिएको निर्देशन पालना नगरेमा,
- कार्यालयीय काममा लापरवाही वा अनावश्यक ढिलासुस्ती गरेमा।
सरकारले अब यही व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउन थालेसँगै निजामती सेवामा अनुशासन, जवाफदेहिता र कार्यसम्पादन मूल्याङ्कन थप वस्तुनिष्ठ हुने अपेक्षा गरिएको छ।



