राहदानी विभाग अगाडि आत्मदाह प्रयास गर्ने युवकको पहिचान खुल्यो


काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेटमा आत्मदाह प्रयास गर्ने युवकको पहिचान खुलेको छ। प्रहरीका अनुसार मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीले आत्मदाह प्रयास गरेका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईका अनुसार नेपालीलाई उपचारका लागि वीर अस्पताल लगिएको छ। उनको शरीरको करिब ६५ प्रतिशत भाग जलेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा नेपालीले राहदानी विभाग अगाडि मोटरसाइकल पार्किङ गरेका थिए। नगर प्रहरीको टोलीले मोटरसाइकलमा ह्विल लक लगाएपछि आत्मदाह प्रयास गरेको हुनसक्ने आशंका गरिए पनि वास्तविक कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार नेपाली हाल सामान्य बोल्न सक्ने अवस्थामा छन्। आत्मदाह प्रयास गर्नुको कारण भने खुल्न सकेको छैन।

२०८३ असार २५, बिहीबार १५:३२ प्रकाशित
ट्रेन्डिङ समाचार