काठमाडौँ । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागको प्रतिवेदनअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रयमासमा घरजग्गा कारोबारमा उल्लेख्य सुधार देखिएको छ।
प्रतिवेदनका अनुसार अघिल्लो वर्षको तुलनामा घरजग्गा कारोबार सङ्ख्या ६.४२ प्रतिशतले बढेको छ। यस अवधिमा १८३ अर्ब ९० करोड रुपैयाँ बराबरको घरजग्गा किनबेच भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा १०० अर्ब ७ करोड रुपैयाँ थियो।
कारोबार बढेसँगै सरकारको राजस्व संकलन २३.७२ प्रतिशतले वृद्धि भएको छ भने पुँजीगत लाभकर ३१.४२ प्रतिशतले बढेको छ। यद्यपि घरजग्गा क्षेत्रमा बैंक कर्जाको वृद्धिदर भने ७.५२ प्रतिशतबाट घटेर ५.५५ प्रतिशतमा सीमित भएको छ।
प्रदेशगत रूपमा बागमती प्रदेशमा घरजग्गा कारोबार सबैभन्दा बढी बढेको छ। बागमतीमा राजीनामा कारोबार ३३.०१ प्रतिशतले वृद्धि हुँदा मधेस प्रदेशमा ४.७९ प्रतिशतले घटेको छ।
महानगरपालिकातर्फ काठमाडौँ महानगरपालिकामा कारोबार सङ्ख्या १०८.४२ प्रतिशतले बढेको छ। पोखरा, ललितपुर, वीरगञ्ज, भरतपुर र विराटनगर महानगरपालिकामा पनि कारोबार वृद्धि भएको छ।
प्रतिवेदनले समग्र रूपमा घरजग्गा बजारमा सुधारको संकेत देखिएको उल्लेख गरेको छ।





