एसईई २०८२ ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक, ६४.६९ प्रतिशत उत्तीर्ण


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

बोर्डका अनुसार परीक्षामा सहभागी १ लाख २९ हजार ११४ विद्यार्थीमध्ये ८३ हजार ५२३ जना उत्तीर्ण भएका छन् । उत्तीर्ण हुनेको संख्या कुल सहभागीको ६४.६९ प्रतिशत रहेको छ ।

नतिजाअनुसार सबैभन्दा धेरै ५१ हजार ४३८ विद्यार्थीले २.४० देखि २.८० जीपीए प्राप्त गरेका छन् । यस्तै १६ हजार ४६७ जनाले २.८० देखि ३.२०, १४ हजार ३६२ जनाले २.०० देखि २.४० जीपीए हासिल गरेका छन् ।

बोर्डले नतिजा वेबसाइट, आईभीआर तथा एसएमएस/यूएसएसडी सेवामार्फत हेर्न सकिने जनाएको छ । नतिजाप्रति चित्त नबुझेका विद्यार्थीले तोकिएको समयभित्र पुनर्योगका लागि अनलाइन आवेदन दिन सक्नेछन् ।

परीक्षा मर्यादा विपरीत कार्य गरेको आरोपमा केन्द्राध्यक्षको सिफारिसमा ७ जना परीक्षार्थीको परीक्षा भने रद्द गरिएको बोर्डले जनाएको छ ।

२०८३ असार २३, मंगलवार ११:३६ प्रकाशित
ट्रेन्डिङ समाचार