निजामतीमा ट्रेड युनियन समूल नष्ट गर्दै सरकार , तालाचाबी बुझाउन ३ दिनको अल्टिमेटम


काठमाडौं।सरकारले निजामती सेवामा क्रियाशील ट्रेड युनियनहरूको भौतिक अस्तित्वसमेत अन्त्य गर्ने गरी अर्को निर्णायक कदम चालेको छ। यसअघि निजामती सेवा ऐन र नियमावली संशोधनमार्फत ट्रेड युनियनको कानुनी हैसियत समाप्त गरेको सरकारले अब उनीहरूको नाममा रहेका कार्यालय तथा सम्पत्तिसमेत आफ्नो नियन्त्रणमा ल्याउने प्रक्रिया अघि बढाएको हो।

भूमि व्यवस्था, सहकारी , संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार सूचना जारी गर्दै ट्रेड युनियनका नाममा रहेका सबै कार्यालय भवन तत्काल खाली गर्न निर्देशन दिएको छ । । सूचनाअनुसार सम्बन्धित ट्रेड युनियनहरूले तीन दिनभित्र आफ्नो जिम्मामा रहेका सम्पूर्ण कागजात, जिन्सी तथा अन्य सम्पत्तिको जिम्मेवारी हस्तान्तरण गरी भवनको तालाचाबी मन्त्रालयलाई बुझाउनुपर्नेछ।

सरकारले तोकिएको अवधिभित्र कार्यालय खाली नगरी तालाचाबी नबुझाए प्रचलित कानुनबमोजिम कारबाही गरिने स्पष्ट चेतावनीसमेत दिएको छ।

सरकारको यो निर्णयसँगै यसअघि कानुनी रूपमा निष्क्रिय बनाइएका ट्रेड युनियनहरूको भौतिक संरचना पनि सरकारी नियन्त्रणमा जाने भएको छ। यसलाई निजामती सेवामा ट्रेड युनियन व्यवस्थाको पूर्ण अन्त्यतर्फको अर्को  कदमका रूपमा हेरिएको छ।

सरकारले हाल आठ वटा ट्रेड युनियनलाई लक्षित गर्दै उक्त अल्टिमेटम जारी गरेको हो। मन्त्रालयको निर्देशनपछि ती युनियनहरूले प्रयोग गर्दै आएका कार्यालय भवन, कागजात तथा सम्पत्तिको व्यवस्थापन अब सरकारको प्रत्यक्ष नियन्त्रणमा जाने प्रक्रिया सुरु भएको छ।

 

 

 

 

२०८३ असार २२, सोमबार १८:०८ प्रकाशित
ट्रेन्डिङ समाचार