नेपाल–चीन व्यापार फोरम : लगानी, प्रविधि र निर्यात विस्तारमा जोड


काठमाडौं । नेपाल–चीनबीच व्यापार, लगानी र औद्योगिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले चीनमा आयोजित नेपाल–चीन बिजनेस एन्ड इन्भेस्टमेन्ट फोरममा दुवै देशका सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिले आर्थिक साझेदारी विस्तारमा जोड दिएका छन्।

अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनका लागि नेपाली दूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेड (CCPIT) र चाइना चेम्बर अफ इन्टरनेशनल कमर्स (CCOIC) को सहकार्यमा जुलाई १ र २ मा सम्पन्न फोरमलाई सम्बोधन गर्दै नेपाल निर्यात व्यवसायी महासंघका अध्यक्ष गोविन्द प्रसाद घिमिरेले चिनियाँ लगानीकर्ता तथा उद्यमीलाई नेपाललाई उत्पादन, नवप्रवर्तन र दिगो विकासका लागि रणनीतिक साझेदारका रूपमा लिन आग्रह गर्नुभयो।

उहाँले नेपालमा प्रविधि हस्तान्तरण, लगानी विस्तार र औद्योगिक सहकार्यका लागि निजी क्षेत्र पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै नेपाल–चीन आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन संयुक्त प्रयास आवश्यक रहेको बताउनुभयो।

अध्यक्ष घिमिरेले चीनले नेपाली वस्तुका लागि उपलब्ध गराएको शून्य भन्सार सुविधाको अपेक्षित उपयोग हुन नसकेको भन्दै यसका कारण नेपालले ठूलो व्यापार घाटा व्यहोर्नुपरेको उल्लेख गर्नुभयो। “हामीले चीनले प्रदान गरेको शून्य भन्सार सुविधाको पूर्ण लाभ लिन सकेका छैनौं। अब यस अवसरलाई वास्तविक आर्थिक उपलब्धिमा रूपान्तरण गर्ने समय आएको छ,” उहाँले भन्नुभयो।

उहाँले हस्तनिर्मित कार्पेट, पश्मिना, उच्च गुणस्तरको चिया, कफी, जडीबुटी, मसला तथा डेरीजन्य उत्पादनजस्ता उच्च मूल्यका नेपाली वस्तुको चिनियाँ बजारमा ठूलो सम्भावना रहेको उल्लेख गर्दै निर्यात विस्तारका लागि सरकार र निजी क्षेत्रबीच समन्वय आवश्यक रहेको बताउनुभयो।

महासंघका अनुसार चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालले चीनबाट करिब ३८२ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ भने चीनतर्फको निर्यात जम्मा १ अर्ब ५८ करोड रुपैयाँमा सीमित रहेको छ। यसले नेपाल–चीन व्यापारमा रहेको ठूलो असन्तुलन स्पष्ट पार्ने महासंघको भनाइ छ।

कार्यक्रममा चीनका लागि कार्यवाहक नेपाली राजदूत रोशन खनालले नेपाल सरकारले विदेशी लगानी आकर्षित गर्न लगानीमैत्री नीतिगत सुधारहरू अघि बढाएको जानकारी दिँदै नेपाललाई सुरक्षित र सम्भावनायुक्त लगानी गन्तव्यका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

चाइना चेम्बर अफ इन्टरनेशनल कमर्सका द्विपक्षीय सहयोग विभागका महानिर्देशक जु क्वाडले फोरमले दुवै देशका व्यवसायीबीच नयाँ सहकार्यका क्षेत्र पहिचान गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो।

नेपाल उद्योग वाणिज्य महासंघको निर्यात प्रवर्द्धन समितिका सभापति होमप्रसाद घिमिरेले औद्योगिक सहकार्य, प्रविधि हस्तान्तरण तथा दिगो लगानीमार्फत नेपाल–चीन आर्थिक सम्बन्धलाई अझ व्यापक बनाउने अवसर सिर्जना भएको उल्लेख गर्नुभयो। उहाँले नेपाललाई विदेशी लगानीका लागि उदीयमान गन्तव्यका रूपमा स्थापित गर्न यस्ता अन्तर्राष्ट्रिय फोरम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।

नेपाली दूतावासकी आर्थिक कूटनीति प्रमुख पार्वती अर्यालले सम्मेलनले चिनियाँ लगानीकर्ता तथा उद्यमीलाई नेपालको लगानी सम्भावना प्रत्यक्ष रूपमा बुझ्ने अवसर प्रदान गरेको बताउनुभयो।

नेपाल निर्यात व्यवसायी महासंघका कार्यकारी निर्देशक रामसुदन तिमल्सिनाका अनुसार फोरममा नेपाल र चीनका विभिन्न क्षेत्रका उद्योगी, व्यवसायी तथा लगानीकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले व्यापार विस्तार, संयुक्त लगानी, प्रविधि आदानप्रदान र दीर्घकालीन आर्थिक सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा व्यापक छलफल गरेका थिए।

२०८३ असार १९, शुक्रबार २०:३२ प्रकाशित
ट्रेन्डिङ समाचार