कर्जा दुरुपयोग प्रकरण : प्रभु बैंकका पूर्वसीईओसहित १२ जनाविरुद्ध बैंकिङ कसुर मुद्दा

१६ करोड कर्जा हिनामिना आरोप, सेल कम्पनी खडा गरी ऋण प्रवाह गरेको सीआईबीको दाबी


काठमाडौं । कर्जा दुरुपयोग गरेको आरोपमा प्रभु बैंकका कर्मचारीसहित १२ जनाविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दा दायर भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले सोमबार उच्च अदालतमा मुद्दा दायर गरेको हो ।

राम जानकी हेल्थ फाउन्डेसनलाई प्रवाह गरिएको कर्जा दुरुपयोग भएको आरोपमा बैंकका तत्कालीन उच्च अधिकारी तथा कर्जा लिने संस्थासँग आबद्ध व्यक्तिहरूलाई प्रतिवादी बनाइएको हो ।

सीआईबीका अनुसार प्रभु बैंकले उक्त फाउन्डेसनलाई करिब १६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । अनुसन्धानका क्रममा वास्तविक उद्देश्यभन्दा फरक ढंगले कर्जा प्रयोग गरिएको र सेल कम्पनी (कागजी संस्था) खडा गरी ऋण प्रवाह गरिएको देखिएको दाबी गरिएको छ ।

यद्यपि, बैंकले उक्त कर्जा असुली गरिसकेको छ । कर्जा फिर्ता भए पनि कर्जा प्रवाह प्रक्रिया, मूल्यांकन र स्वीकृतिमा भएको भनिएको अनियमितताका आधारमा बैंकिङ कसुरअन्तर्गत अनुसन्धान अघि बढाइएको हो ।

मुद्दामा प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित मणिराम पोखरेल, रिवश श्रेष्ठ र रश्मी पन्तलाई प्रतिवादी बनाइएको छ ।

त्यस्तै, राम जानकी हेल्थ फाउन्डेसनका अध्यक्ष ओमप्रसाद पाण्डे (ओपी) सहित रिभान लामा, धनबहादुर शेरचन, महावीर तामाङ, देवान राई, सुरेशकुमार तिवारी र हरिकृष्ण भट्टचनविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

फाउन्डेसनका अध्यक्ष पाण्डेलाई यसअघि नै प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।

यसै प्रकरणमा शेरचनसहित देवीप्रकाश भट्टचन, कुसुम लामालगायत केही व्यक्तिविरुद्ध थप दुईवटा मुद्दा दायर गर्ने तयारी सरकारी वकिल कार्यालयले गरेको छ ।

सीआईबीले बैंकिङ क्षेत्रसँग सम्बन्धित कर्जा दुरुपयोग, कर्जा प्रवाहमा मिलेमतो तथा आर्थिक अनियमितताका घटनामाथि पछिल्लो समय अनुसन्धान तीव्र बनाउँदै आएको छ ।

२०८३ असार ८, सोमबार २२:२९ प्रकाशित
ट्रेन्डिङ समाचार