बालकुमारीमा हेरोइन कारोबारी पक्राउ गर्न प्रहरीको गोली, ३ नियन्त्रणमा
काठमाडौँ । ललितपुरको बालकुमारी क्षेत्रमा खैरो हेरोइन कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले गोली चलाएर तीन जनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरोका अनुसार पक्राउ परेकामध्ये पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ का ३९ वर्षीय किशोर प्रसाद ओझैयाको दाहिने खुट्टामा गोली लागेको छ। उनलाई उपचारका लागि अस्पताल पठाइएको छ।
प्रहरीले ओझैयालाई नियन्त्रणमा लिन ३ राउन्ड गोली तथा २ राउन्ड हवाई फायर गरेको जनाएको छ। घटनामा कैलालीका २५ वर्षीय अशोक भुल र सप्तरीको राजगढ गाउँपालिका–३ का १८ वर्षीय नीरज कुमार मण्डल पनि पक्राउ परेका छन्। मण्डलको साथबाट ३०२ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरी अनुसन्धान अनुसार ओझैया खैरो हेरोइन मगाउने मुख्य व्यक्ति रहेको र जेलबाट छुटेपछि पुनः लागुऔषध कारोबारमा संलग्न भएको खुलेको छ।