काठमाडौं । बजारमा उपभोक्तामाथि हुने ठगी, कालोबजारी, कृत्रिम मूल्यवृद्धि र व्यापारिक बेथिति नियन्त्रण गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनलाई तीव्र बनाएको छ । विभागले पछिल्लो दुई महिना (असोज र कात्तिक) मा मात्रै ८८७ वटा व्यावसायिक फर्मको अनुगमन गरी कैफियत भेटिएका ७४ वटा फर्मलाई कारबाही गरेको छ ।
विभागका महानिर्देशक रितेश कुमार शाक्यले जिम्मेवारी सम्हालेयता बजार अनुगमनलाई नियमित र परिणाममुखी बनाउने प्रयासस्वरूप टोली परिचालन बढाइएको हो । यस अवधिमा कारबाहीमा परेका फर्महरूबाट २२ लाख ८२ हजार रुपैयाँ जरिवाना असुल गरी राजस्वमा दाखिला गरिएको विभागले जनाएको छ ।
बजारमा उपभोक्ताको हितविपरीत हुने गतिविधि नियन्त्रण गर्न विभागले दैनिक पाँचदेखि १० वटासम्म अनुगमन टोली परिचालन गर्दै आएको महानिर्देशक शाक्यले प्रशासनपोस्टलाई बताए । उनका अनुसार बजारमा देखिने विकृति, कृत्रिम मूल्यवृद्धि, व्यापारिक अनियमितता र उपभोक्ता ठगी नियन्त्रणका लागि अनुगमनलाई निरन्तरता दिइएको छ ।
‘बजारलाई व्यवस्थित बनाउने र उपभोक्ताले गुणस्तरीय वस्तु तथा सेवा उचित मूल्यमा प्राप्त गर्ने वातावरण तयार गर्नु हाम्रो प्राथमिकता हो । त्यसैले नियमित रूपमा अनुगमन टोली परिचालन गरिरहेका छौँ,’ महानिर्देशक शाक्यले भने ।
खाद्यान्नदेखि ग्यास र होटलसम्म निगरानी
विभागले अनुगमनलाई खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको कारोबारमा मात्र सीमित नराखी उपभोक्तासँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न व्यापारिक क्षेत्रसम्म विस्तार गरेको छ ।
खाद्यान्न तथा किराना पसल, होटल तथा रेस्टुरेन्ट, चमेनागृह, ग्यास स्टोर, रेडिमेड तथा थान कपडा पसल, कस्मेटिक, अटो पार्ट्स, तरकारी तथा फलफूल पसललगायत क्षेत्रमा विभागले निगरानी बढाएको छ ।
विशेषगरी दैनिक उपभोग्य वस्तुको मूल्य, गुणस्तर, बिक्रीवितरणको अवस्था, व्यवसाय सञ्चालनसम्बन्धी मापदण्ड तथा उपभोक्ताको अधिकारविपरीत हुने गतिविधिलाई अनुगमनको प्राथमिकतामा राखिएको विभागले जनाएको छ ।
अनुगमनका क्रममा कैफियत देखिएका ७६ वटा फर्मलाई आवश्यक कागजातसहित उपस्थित हुन निर्देशन दिइएको छ । यसले बजार अनुगमनका क्रममा तत्काल कारबाहीमा परेका व्यवसायीसँगै थप छानबिन र नियामकीय निगरानीको दायरामा रहेका फर्मको संख्या पनि उल्लेख्य रहेको देखाउँछ ।
अनुगमनलाई थप प्रभावकारी बनाउने तयारी
बजारमा हुने अनियमितता नियन्त्रण गर्न सरकारी निकायको अनुगमन मात्र पर्याप्त नहुने भन्दै विभागले उपभोक्ता तथा सर्वसाधारणको सहयोगसमेत अपेक्षा गरेको छ ।
महानिर्देशक शाक्यले बजारमा कुनै पनि प्रकारको ठगी, अनुचित व्यापारिक गतिविधि वा उपभोक्ताको हितविपरीतका काम भएको पाइएमा त्यसबारे जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेका छन् ।
विभागले आवश्यकताअनुसार अनुगमन टोलीको संख्या र परिचालनलाई थप प्रभावकारी बनाउँदै लैजाने जनाएको छ ।
बजारमा मूल्य र गुणस्तरका नाममा उपभोक्ता ठगिने, म्याद गुज्रिएका वस्तु बिक्री हुने, कृत्रिम अभाव सिर्जना गर्ने तथा व्यापारिक कारोबारमा पारदर्शिताको अभाव रहनेजस्ता समस्या पूर्ण रूपमा नियन्त्रण हुन सकेका छैनन् । यस्तो अवस्थामा विभागको पछिल्लो सक्रियता सकारात्मक भए पनि यसको प्रभाव जरिवाना असुली र अनुगमनको संख्यामा मात्र सीमित नभई बजारको व्यवहारमै देखिनु आवश्यक छ ।
उपभोक्ताले सहज रूपमा गुणस्तरीय वस्तु उचित मूल्यमा पाउने वातावरण निर्माण गर्नु नै बजार अनुगमनको वास्तविक सफलता हुनेछ । त्यसका लागि नियमित अनुगमनसँगै दोषी व्यवसायीमाथि प्रभावकारी कारबाही, कारबाहीको निरन्तरता र बजारमा देखिएका विकृति दोहोरिन नदिने प्रणाली विकास गर्न जरुरी देखिन्छ ।





प्रतिक्रिया