ADVERTISEMENT

अब काठमाडौं कहिल्यै नसुत्ने ! राजधानीका सबै बजार रातभर खुला गर्ने प्रशासनको तयारी

ठमेल र दरबारमार्गपछि अब सिंगो काठमाडौंलाई २४ घण्टा चलायमान बनाउने योजना, सुरक्षा र पूर्वाधार सुनिश्चित गरेर चरणबद्ध रूपमा लागू गरिने

काठमाडौं । संघीय राजधानी काठमाडौंको परम्परागत रात्रिकालीन स्वरूप बदल्ने गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंले नयाँ रणनीतिक योजना अघि बढाएको छ। अब काठमाडौंका बजार, व्यापारिक क्षेत्र र व्यवसायहरूलाई रातभर पनि सञ्चालन गर्न सकिने व्यवस्था मिलाउने तयारी सुरु भएको छ।

दिनको समयमा मात्रै सीमित हुँदै आएको राजधानीको आर्थिक तथा व्यावसायिक गतिविधिलाई रातको समयमा समेत विस्तार गरी काठमाडौंलाई चौबीसै घण्टा चलायमान सहर बनाउने उद्देश्यसहित काठमाडौं प्रशासनले यो योजना अघि सारेको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले  मंगलबार अत्यन्त जरुरी सूचना जारी गर्दै समग्र काठमाडौं जिल्लालाई नै चौबीसै घण्टा खुला गर्ने रणनीतिक तयारी भइरहेको औपचारिक जानकारी दिएको छ।

प्रशासनको यो योजनाअनुसार हाल चौबीसै घण्टा खुला रहेका ठमेल र दरबारमार्ग क्षेत्रलाई थप व्यवस्थित र चलायमान बनाइनेछ भने निकट भविष्यमा काठमाडौंका अन्य व्यापारिक, व्यावसायिक तथा बजार क्षेत्रलाई समेत रातभर सञ्चालन गर्न सकिने व्यवस्था मिलाइनेछ।

सुरक्षा र पूर्वाधारलाई पहिलो प्राथमिकता

जिल्ला प्रशासन कार्यालयले काठमाडौंलाई चौबीसै घण्टा खुला गर्ने विषयलाई केवल बजार र पसल रातिसम्म सञ्चालन गर्ने योजनाका रूपमा मात्रै लिएको छैन। यसका लागि आवश्यक सुरक्षा व्यवस्था, पूर्वाधार र अत्यावश्यक सेवाको सुनिश्चिततालाई मुख्य आधार बनाएको छ।प्रशासनले जारी गरेको सूचनामा समग्र काठमाडौं जिल्लालाई भरपर्दो सुरक्षा प्रबन्धसहित सडक यातायात, स्वास्थ्य सेवा, विद्युत्, इन्टरनेट, सीसीटीभी र सडकबत्तीको पर्याप्त व्यवस्था गर्नुपर्ने उल्लेख गरेको छ।

त्यसैगरी यातायात, व्यापार व्यवसाय, स्वास्थ्य सेवा, आपूर्ति व्यवस्था र सुरक्षालाई प्रभावकारी बनाउँदै राजधानीलाई चौबीसै घण्टा सञ्चालनयोग्य बनाउने गरी रणनीतिक तयारी भइरहेको प्रशासनले स्पष्ट पारेको छ।

यसका लागि स्थानीय तह, विभिन्न विभाग, सरकारी कार्यालय, यातायात व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिहरूसँग समन्वय र सहकार्य गरिने भएको छ।

सबै सरोकारवालासँग बैठक गरेर निर्णय गरिने

प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार काठमाडौंलाई चौबीसै घण्टा खुला गर्ने योजनालाई कार्यान्वयनमा लैजानुअघि सम्बन्धित सबै निकाय र सरोकारवालासँग छलफल गरिनेछ।

यसका लागि स्थानीय तह, विभिन्न सरकारी विभाग तथा कार्यालय, यातायात व्यवसायी र निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागितामा छिट्टै समन्वयात्मक बैठक आयोजना गर्ने तयारी भइरहेको छ।

उक्त बैठकबाट रात्रीकालीन समयमा राजधानीका बजार तथा व्यवसाय सञ्चालन गर्दा आवश्यक पर्ने सुरक्षा, यातायात, स्वास्थ्य सेवा, विद्युत्, आपूर्ति र अन्य पूर्वाधार व्यवस्थापनका विषयमा छलफल गरी कार्ययोजना बनाइनेछ।

व्यापक तयारी र आवश्यक व्यवस्थापन सुनिश्चित भएपछि मात्रै काठमाडौंका समग्र क्षेत्रलाई चौबीसै घण्टा खुला गर्ने गरी निर्णय गरिने प्रशासनको भनाइ छ।

अहिले ठमेल र दरबारमार्गलाई थप चलायमान बनाइने

हाल काठमाडौंका ठमेल र दरबारमार्ग क्षेत्र चौबीसै घण्टा खुला राख्ने निर्णयअनुसार सञ्चालनमा रहेका छन्। यी क्षेत्रलाई थप व्यवस्थित, सुरक्षित र चलायमान बनाउने प्रशासनको योजना छ।

तर अन्य क्षेत्रका व्यवसायीले भने तत्कालै रातभर व्यवसाय सञ्चालन गर्न पाउने छैनन्। जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा हाल चौबीसै घण्टा खुला गरिएका क्षेत्रबाहेक अन्य स्थानका व्यवसायीलाई अर्को सूचना जारी नभएसम्म यसअघि तोकिएको समयसीमाभित्र मात्रै व्यापार व्यवसाय सञ्चालन गर्न स्पष्ट रूपमा सूचित गरेको छ।

यसबाट प्रशासनले तत्कालै सबै बजारलाई रातभर खुला गर्न लागेको नभई आवश्यक पूर्वाधार र सुरक्षा व्यवस्थापनसहित चरणबद्ध रूपमा राजधानीका अन्य क्षेत्रसम्म यो व्यवस्था विस्तार गर्न खोजेको देखिन्छ।

रात्रीकालीन अर्थतन्त्र विस्तार गर्ने लक्ष्य

काठमाडौंलाई चौबीसै घण्टा चलायमान बनाउने योजनाले राजधानीको आर्थिक गतिविधि, पर्यटन, होटल तथा रेस्टुरेन्ट व्यवसाय, यातायात, मनोरञ्जन र सेवा क्षेत्रलाई नयाँ गति दिन सक्ने अपेक्षा गरिएको छ।

रातको समयमा समेत बजार तथा व्यावसायिक गतिविधि सञ्चालन हुँदा रोजगारीका नयाँ अवसर सिर्जना हुनुका साथै पर्यटक तथा उपभोक्ताले थप सेवा र सुविधा प्राप्त गर्न सक्नेछन्। त्यसले राजधानीको समग्र आर्थिक गतिविधि विस्तारमा समेत सहयोग पुर्‍याउन सक्छ।

तर यसका लागि रात्रिकालीन सुरक्षा, सार्वजनिक यातायात, स्वास्थ्य सेवा, श्रमिकको सुरक्षा तथा सुविधा, सडक प्रकाश, आपत्कालीन उद्धार र नियमित अनुगमनको भरपर्दो व्यवस्था अपरिहार्य हुनेछ।

काठमाडौं प्रशासनले अघि सारेको यो योजनाको सफल कार्यान्वयनले राजधानीको रात्रिकालीन अर्थतन्त्र विस्तारसँगै काठमाडौंलाई आधुनिक, सुरक्षित र चौबीसै घण्टा सेवा तथा व्यवसाय सञ्चालन गर्न सक्ने सहरका रूपमा विकास गर्ने सम्भावनासमेत खोल्नेछ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार